सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको चर्चा, सांसद भन्छन्– पार्टी निर्देशनको प्रतीक्षामा छौँ

२०७७ चैत्र १, ०२:२६ जनक विष्ट

धनगढीः राष्ट्रिय राजनीति तरंगित भएर क्षण–क्षणमा समिकरण फेरबदल भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि थप अन्योलमा पर्दै जान थालेको छ। 

माओवादी केन्द्रले संघीय सरकारमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाएपनि सुदूरपश्चिम प्रदेशमा भने दोस्रो दल बनेको माओवादीले नै सरकारको नेतृत्व गरिरहेको छ। 

एमालेको रणनीतिक कस्तो हुन्छ ? 

२५ जना प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले पनि २ चिरा परेको अवस्थामा फेरिदो राजनीतिक समिकरणले यहाँको राजनीति पनि रोचक बन्दै गएको छ। 

अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि स्पष्ट अल्मपतमा परेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन एमालेले फिर्ता लिने बितिकै उनले राजीनामा दिने वा प्रदेशसभामा विश्वासको मत लिने विकल्पमा जानुपर्ने अवस्था छ। 

तर एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन। सुदूरपश्चिममा नेकपा एमालेको अबको रणनीति कस्तो हुन्छ ? 

तत्कालीन नेकपाका प्रमुख सचेतक समेत रहेका नेकपा एमालेका प्रदेशसभा सदस्य तारालामा तामाङ भन्छन्, ‘पार्टीमा यो विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन।’

उनले प्रदेशसभामा पार्टीको केन्द्रीय कमिटिले गर्ने निर्देशनअनुसार भूमिका खेल्ने बताए। 

अविश्वासको प्रस्तावबारे चर्चा 

चैत ३ गते बस्ने प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टीसँग मिलेर नेकपा एमालेले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको चर्चा समेत चल्न थालेको छ। 

यसो हुँदा अविश्वासको प्रस्ताव पारित गरेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने दाउपेच सुरु भएको बताइएपनि उसका प्रदेशसभा सदस्यहरुले भने अहिलेसम्म सो विषयमा छलफल नभएको बताइरहेका छन्। 

एमालेकी प्रदेशसभा सदस्य पूर्णा जोशी भन्छिन्, ‘अविश्वासको प्रस्तावका सन्दर्भमा पार्टीभित्र अहिले नै छलफल भएको छैन।’

यद्यपी एमाले र जनता समाजवादी पार्टीका केन्द्रीय कमिटिबाट यसप्रकारको कुनै निर्देशन प्राप्त नभएको बताइएको छ। 

अहिलेकै सरकारलाई निरन्तरता दिने मुडमा माओवादी केन्द्र 

माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले भने काँग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने रणनीतिअनुसार अघि बढ्ने संकेत गरेका छन्। माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्टले पार्टीले कुनै खालको निर्णय नगरेको अवस्था यसो नै हुन्छ भन्न नसकिने बताए। 

तर काँग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता साझेदारी गरेर अहिलेकै सरकारलाई निरन्तरता दिने सकिने उनले जनाए। 

काँग्रेस पनि अनिर्णित 

नेपाली काँग्रेसले भने सरकार गठनका विषयमा आन्तरिक छलफल नै नभएको जनाएको छ। नेपाली काँग्रेस सुदूरपश्चिमका सचेतक गोविन्द बोहराले नयाँ सरकार गठन वा अहिलेको सरकारको सन्दर्भमा कुनै छलफल नभएको बताए। उनले अब सो विषयमा संसदीय दलमा छलफल गरि आवश्यक रणनीति बनाउने बताएका छन्। 

सुदूरपश्चिम प्रदेशसभामा ५३ जना प्रदेशसभा सदस्यहरु छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा नयाँ सरकार गठन गर्ने विषयमा २ जना प्रदेशसभा सदस्य रहेको जनता समाजवादी पार्टी निर्णायक छ। 

जनता समाजवादी पार्टीलाई र माओवादीलाई बाहिर राखेर एमाले र काँग्रेसले पनि गठबन्धनको सरकार बनाउन सक्ने विकल्प पनि रहेको छ। 

माओवादी केन्द्रले जसपालाई पनि हातमा लिएर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने अवस्था रहेको बताइएको छ।  
 

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस