बैतडीका सुरेन्द्रको पौरखः विदेशबाट फर्किर गाउँमै तरकारी खेती, विद्यार्थीलाई गराउँछन् प्रयोगात्मक अभ्यास
धनगढी: बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का ३६ वर्षीय सुरेन्द्र भण्डारीले गाउँको बाँझो जमिन र विद्यालयलाई जीवन प्रदान गरिरहेका छन्।
१० वर्ष दक्षिण कोरिया बसेर डेढ वर्ष अगाडि मात्रै स्वदेश फर्किएका भण्डारीले गाउँलेहरुले बाँझो छोडेको १ सय २० रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर तरकारी खेती सुरु गरेका छन्।
१० वर्षको एकमुष्ट भाडा रकम ८ लाख गाउँलेहरुलाई चुक्ता गरेका भण्डारीले तरकारी खेती सुरु गर्दासम्म २० लाख लगानी भएको बताएका छन्। गाउँलेहरुले उब्जनी नहुने र भएको उब्जनीमा पनि बाँदरले नोक्सानी गर्ने हुँदा खेती लगाउन छोडेको जमिनलाई आफुले कोरियाबाट फर्केपछि नयाँ जीवन दिएको बताउँछन्।
व्यावसायिक तरकारी खेतीमा नमूना बन्दै गएको बैतडीको किचार गाउँका गाउँलेहरु समेत भण्डारीले गरेको तरकारी खेतीबाट लोभिएका छन्।
भण्डारीले भने, “एकवर्षमै तरकारी खेतीबाट लगानीको दोब्बर आम्दानी भएको छ। ३ जनालाई रोजगारी दिएको छु। दैनिक ६ सय ज्याला दिएर अन्यलाई समेत रोजगारी दिन पाउँदा खुसी छु।”
गाउँलेहरुले फलाएको तरकारी समेत खरिद गरेर बजारसम्म पुगाउने काम समेत गरि रहेका भण्डारीले गत वर्ष १ सय २० रोपनी जग्गाको तरकारीबाट खर्च कटाएर २० लाख आम्दानी भएको बताएका छन्।
समाज सेवामा अभिरुचि भएको बताउने भण्डारीले कोरिया बसाइको क्रममा सिकेको र देखेको कुरालाई आफ्नो गाउँमा अभ्यास गर्न खोजेको बताएका छन्। जुन अभ्यास सफल भइरहेको उनले बताएका छन्। कोरियाको विद्यालयको सिकाउने तरिकाबाट प्रभावित भएका भण्डारीले सो अनुभव गाउँको सामुदायिक विद्यालयमा प्रयोग गरिरहेका छन्। गाउँलेहरुले सर्वसम्मतले भण्डारीलाई स्थानीय सरस्वती आधारभूत विद्यालयको व्यवस्थापन समिितको अध्यक्षमा समेत चुनेका छन्।
भण्डारी अध्यक्ष भएपछि विद्यालयको वाताबरण पुरै फेर्न कोसिस गरेको र त्यो सफल समेत भएको अनुभव सुनाएका छन्।
“अहिले विद्यालयमा दिवा खाजाको व्यवस्था पनि गरिएको र कुनै विद्यार्थीमा उमेरको आधारमा शारीरिक बृद्धि, विकास नभए अतिरिक्त पौष्टिक आहार विद्यालयको खर्चमा घरमै पठाउने व्यवस्था समेत गरिएको छ” भण्डारीले भने।
गाउँमा कृषिबाट आर्थिक समृद्धि सम्भव छ भन्ने कुरा प्रमाणित गरेर देखाउन आफुले तरकारी खेती सुरु गरेको भण्डारी बताउँछन्।
सानै उमेरबाट नै व्यक्तिमा कृषि पेशाप्रतिको लगाव र सम्मान जगाउन विद्यालयमा समेत करेसाबारी निर्माण गरिएको उनले बताएका छन्। विद्यालयले अभिभावकलाई समेत बेर्ना दिने र उत्पादन गरेको तरकारी समेत खरिद गर्ने गरेको भण्डारीले बताउँछन्।
अहिले सरस्वती आधारभुत स्कूल हेर्न भनेर धेरै विद्यालयबाट विद्यार्थी र शिक्षक आउने गरेको भण्डारीलेको भनाइ छ। अहिले विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिति हुने गरेको र पढाइमा सामाजिक व्यवहार,कृषिको ज्ञानसँगै आधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थीको चौतर्फी सिकाइलाई सहजीकरण गर्ने अवसर पाएकोमा भण्डारी निकै खुशी छन्।