कैलाली निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा उपनिर्वाचन होला ?

धनगढीः ५ वर्ष पूरा नहुँदै कैलालीको २ वटा निर्वाचन क्षेत्र प्रतिनिधिविहीन हुने अवस्था सिर्जना भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ प्रतिनिधिविहीन बन्ने सम्भावना बढेको हो।
माओवादी केन्द्रबाट निर्वाचित भइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको स्थान रिक्त हुने भएपछि प्रतिनिधिविहीनताको अवस्था सिर्जना हुने देखिएको हो। मन्त्री चौधरी निर्वाचन क्षेत्र नं. ३ र भट्ट निर्वाचन क्षेत्र नं. ४ बाट माओवादी केन्द्रको उम्मेदवार भइ चुनाव जितेका थिए।

तर उनीहरु हाल नेकपा एमाले ओली समूहको केन्द्रीय पदाधिकारीमा मनोनित भएको र उनीहरु उम्मेदवार बनेको माओवादी केन्द्रले उनीहरुलाई फिर्ता हुन निर्देशन दिएपछि उनीहरुको प्रतिनिधि सभा सदस्य पद जोखिममा परेको हो।

नेकपा माओवादी केन्द्रले शनिबार गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री भट्ट, श्रम मन्त्री चौधरीसहितका आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ।
नेपालको संविधानको धारा ८९(ङ) बमोजिम जुन दलको उम्मेदवार भइ सदस्य निर्वाचित भएको हो, त्यो दलले संघीय कानुन बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेको अवस्थामा स्थान रिक्त हुने प्रावधान छ। यद्यपि उनीहरु हालसम्म औपचारिक रुपमा दल त्याग गरेको घोषणा गरेका छैनन्। तथापी उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने भन्दै माओवादी केन्द्रमा नफर्किने अभिव्यक्ति सार्वजनिक रुपमा दिदै आएका छन्।
सदस्यको पद रिक्त भएको अवस्थामा उनीहरु निर्वाचित निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुुने प्रावधान समेत रहेको छ। निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यको पदको अवधि सकिन ६ महिना बाँकी रहेको र स्थानीय तहको हकमा १ वर्ष बाँकी रहँदा पद पूर्तिको लागि उपनिर्वाचन हुने व्यवस्था रहेको जानकारी दिए।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मंसिरमा भएको थियो।