सुदूरपश्चिममा एमालेः निषेध र प्रतिकारको रणनीतिमा २ खेमा, अंक गणित यस्तो छ

धनगढीः सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमालेभित्र टकरावको स्थिति सिर्जना भएको छ।
अदालतको फैसलाअघि एकअर्कालाई प्रधान शत्रु ठान्ने नेकपा ओली समूह र प्रचण्ड–माधव समूहभित्रका एमाले पक्षधरहरु कानुनतः सूर्य अंकित झण्डाभित्र गोलबद्ध हुनुपर्ने भएपछि त झनै निषेध र प्रतिकारको रणनीति हाबी भएको छ। ‘नेकपा एमाले’ आफुहरुको मियो ठान्ने तर परस्पर विरोधी देखिएका ओली र माधव समूह एकअर्कालाई स्वीकार्ने मनस्थितिमा भने तत्काल देखिएका छैनन्। तर ती २ समूह अलग भएर राजनीतिक मैदानमा उत्रिने संकेत पनि देखाएका छैनन्।

जसको पछिल्लो उदारण हो, फागुन २६ गते धनगढीमा भएको ती २ पक्षीय कार्यकर्ताको झडप। जुन झन–झन पेचिलो बनेको छ। एमालेका पार्टी कार्यालयहरु हाल प्रहरीको सुरक्षा घेरामा छन्।

एकीकरण पहिले
माओवादी केन्द्र र नेकपा एमाले एकीकरण पूर्व सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये अधिकांश जिल्लामा माधव नेपाल तथा भीम रावल पक्षीय जिल्ला अध्यक्षहरु निर्वाचित थिए। जसको प्रभाव स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म देखियो।
सुुदूरपश्चिम प्रदेश सभामा २५ जना एमाले सांसद मध्ये ५ जना मात्रै ओली समूहका छन्। रतन थापा, नेपालु चौधरी, गेल्बु बोहरा, पठानसिंह बोहरा र लिलाधर भट्ट खुलेर ओली समूहमा सक्रिय देखिका छन्।
प्रदेशको प्रमुख जिल्ला मानिने कैलालीमा पनि नेकपा एमालेको जिल्ला अधिवेसनमा माधव तथा डा. भीम रावल टीम नै निर्वाचित भएको थियो। ७५ सदस्यीय बनेको जिल्ला समितिको अध्यक्ष दीर्घ सोडारी थिए।
केही पदाधिकारी ओली समूहमा देखिए पनि हाल ५२ जना पदाधिकारी माधव नेपाल तथा भीम रावल समूहमा नै रहेको कैलाली जिल्ला सदस्य चुनकुमारी चौधरीले दिनेशखबरलाई बताइन्।
सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेकी चौधरीले भनिन्, “जिल्लागत होस् या प्रदेशगत भीम रावल समूह नै बलियो छ। अब अदालतको फैसलालाई सम्मान गर्दै एक भएर अगाडि बढ्नुपर्छ।”
तर ओली समूहका एमाले नेता तथा कार्यकर्ताहरु भने एमालेको तत्कालीन अधिवेसनलाई नजरअन्दाज गरेको पाइएको छ।
‘प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी अध्यक्षले नै दिएको हो’
हाल एमाले कैलालीको जिल्ला अध्यक्ष आफुभएको दाबी गर्दै आएका रतन थापाले भने, “पहिलेको जिल्ला अध्यक्षलाई पार्टीले कारवाही गरेको छ। उहाँ साधारण सदस्य पनि हुनुहुन्न। जुनकारण अध्यक्ष त मै हो।”
उनले भने, “सर्वोच्च अदालतले दल मात्रै ब्युँताएको हो। जसको अध्यक्षमा केपी शर्मा ओली भनेर एक जनाको मात्रै नाम दिएको छ। अरु पदलाई सर्वोच्चले चिन्दैन। अब नयाँ संगठन संरचना आएको छ। सुुदूरपश्चिममा मात्रै होइन देशभर बदलिएको छ। पहिले जिल्ला कमिटी ७५ सदस्यीय थियो अब ७५१ जनाको छ। अहिले प्रदेश कमिटि ५०१ जनाको छ।”
पार्टी अधिवेसनलाई लत्याउँदै माओवादी पृष्ठभूमिका व्यक्ति (लेखराज भट्ट)लाई प्रदेश इन्चार्ज बनाउनुभयो नि ? भन्ने जिज्ञासामा थापाले थपे, “उहाँ पार्टी अध्यक्षकोे अभियानमा हुनुहुन्छ। उहाँलाई पार्टी अध्यक्षले नै इन्चार्जको जिम्मेवारी दिएको हो।”
फागुन २६ गते एमाले प्रदेश कार्यालयमा प्रदेश इन्चार्ज भीम रावलको नेम प्लेट हटाएर लेखराज भट्टको राख्ने क्रममा २ पक्षबीच झडप भएको थियो। दुबै पक्षबीच नाराबाजीसहित हातहालाहालको अवस्था सिर्जना भएपछि केही नेता तथा कार्यकर्ता घाइते समेत बनेका थिए।
ओली समूहले प्रदेश इन्चार्जमा लेखराज भट्टलाई अगाडि सारेपछि सुदूरपश्चिममा एमालेभित्र भीम रावल र लेखराज भट्ट समूहबीच टकरावको अवस्था सिर्जना भएको हो।