सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘३० लाख रुपैयाँ’सहित के एमालेमा फिर्ता हुन्छन् त अब डा.भीम रावल ?

२०७७ फाल्गुन २५, ०६:१७ लखन चौधरी

धनगढीः भनिन्छ, ‘राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्र हुँदैन’। पछिल्लो राजनीतिक घटना क्रमले पुनः सो भनाइलाई चरितार्थ गरेको छ। २ दिन अगाडिसम्म एक अर्काका प्रधान शत्रु ठान्ने कम्युनिष्ट नेता कार्यकर्ताहरु हाल जाली रुमालले नाक मुख छोप्दै अंकमाल गर्न थालेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गराएपछि नेकपाभित्रको विवादलाई मुलुकलाई नै अशान्त बनायो। नेकपा नै ओली र प्रचण्ड–माधव खेमामा विभक्त भयो। त्यसको असर केन्द्रमा मात्रै सीमित रहेन, वडा स्तरसम्म नै उथलपुथल मच्चियो।

२ महिना अगाडिसम्म पार्टी कार्यालयहरुमा तालाबन्दीमाथि तालाबन्दी, हात हालाहाल र संस्थागत सम्पत्ति कब्जा गर्ने होडबाजी समेत चले।

यसैबीच नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका डा. भीम रावलको ठाडो निर्देशनमा पार्टी एकतापछि नेकपा प्रदेश समिति अध्यक्ष कर्णबहादुर थापा, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख रुपैयाँ झिकियो।

प्रदेश अध्यक्ष थापाले सो कार्यलाई पुनः आपराधिक भएको संज्ञा दिएका छन्। उनले दिनेशखबरसँग भने, “त्यो पार्टीको सम्पत्ति थियो। त्यसमा हाम्रो पुरानै मान्यता छ। ब्याजसहित फिर्ता गर्नुपर्छ। उनीहरुले अपराधपूर्ण कार्य गरेका छन्। त्यो जघन्य अपराध नै हो। आर्थिक अनियमितता गरेका छन्। हामी कारवाही गर्छौ।” 

हुन त पार्टीको औपचारिक कार्यक्रममै पैसा झिकेको स्वीकार गरेका थिए नेता रावलले। उनले भनेका थिए, “हो हामीले प्रधानमन्त्रीलाई काम गर्न दिएनौँ, खाताबाट पैसा झिकिएकै हो।” जसलाई अध्यक्ष थापाले आपराधिक कार्यको संज्ञा समेत दिएका थिए।

“भीम रावलको निर्देशनमा सबै काम भएको छ। त्यो अपराधपूर्ण काम हो। कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौँ,” उनले भनेका थिए, “यो कुन राजनीतिसँग मेल खान्छ ? पार्टीमा राजनीतिक हिसाबले चलेको विवाद एक खालले समाधान होला।”

तर इन्चार्ज डा. रावलले प्रदेश अध्यक्ष थापाको अभिव्यक्तिलाई खण्डन गर्दै दिनेशखबरसँग भनेका थिए, “हामी आधिकारिक हो। अब आधिकारिक पार्टीको खाता सञ्चालन उहाँहरुले के प्रयोजनका लागि गर्नुहुन्छ ? रकम चलाउने, पत्राचार गर्ने, त्यो उहाँहरुको अधिकारको कुरा हो। त्यसमा मलाई गालीगलौज गर्नू भनेको निकृष्ट कार्य हो।”

तर २ दिनयता नेपाली राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले फागुन २३ गते सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गर्ने फैसलापछि नेपाली राजनीति तरंगित भएको हो। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको भएको छ। नेकपा एमाले र माओवादी केन्द्र पुनः ब्युँतिएको छ। पूर्व एमाले आवद्ध नेता कार्यकर्ता एमालेमा र पूर्व माओवादी केन्द्र आवद्ध नेता कार्यकर्ता पूर्वमाओवादी केन्द्रमै फर्किन थालेका हुन्। तर कसैलाई सहज भने पटक्कै छैन।

ब्याजसहित फिर्ता गर्नुपर्छ, कारवाही गर्छौः प्रदेश अध्यक्ष थापा
प्रदेश अध्यक्ष थापाले सो कार्यलाई पुनः आपराधिक भएको संज्ञा दिएका छन्। उनले दिनेशखबरसँग भने, “त्यो पार्टीको सम्पत्ति थियो। त्यसमा हाम्रो पुरानै मान्यता छ। ब्याजसहित फिर्ता गर्नुपर्छ। उनीहरु अपराधपूर्ण कार्य गरेका छन्। त्यो जघन्य अपराध नै हो। आर्थिक अनियमितता गरेका छन्। हामी कारवाही गर्छौ।” 

पछिल्लो घटनाक्रमबारे प्रदेश इन्चार्ज रावलको प्रतिक्रिया आउन बाँकी नै छ। उनी झिकिएको पैसासहित आफ्ना ‘पूर्वसहयोद्धा कमरेड’हरुसँग कसरी पुनर्मिलन गर्छन् ? हेर्न बाँकी नै छ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस