भीम रावलका २ जवाफः हो हामीले प्रधानमन्त्रीलाई काम गर्न दिएनौँ, खाताबाट पैसा झिकिएकै हो

धनगढीः नेकपाको प्रचण्ड–माधव समूहका नेता एंव सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएको बारे स्पष्ट गरेका छन्।
शुक्रबार धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौँथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले प्रधानमन्त्री ओली लगातार राष्ट्रियता विरोधी रा विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि रोकेको दाबी गरेका हुन्।

उनले अगाडि भने, ‘हामीले घेराबन्दी पनि गरेका छैनौ। हामीले उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैन। तर एउटा कुरा निश्चित गरेका छौ, राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने, कम्युनिष्ट पार्टी विरुद्धको कार्यक्रम रोक्न खोजिएकै हो। अब त्यो रोक्न खोजीपछि पार्टी नै भंग गरेपछि हामीले त्यस्तो प्रधानमन्त्रीलाई के भन्नुपर्ला?’

यसैबीच नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैंक खातामा रहेको पैसा झिकेको स्वीकार गरेका छन्।

उनले भने, ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले, हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाउने, केही रकम हाम्रो काममा खर्च भयो। तर प्रदेश अध्यक्षको धम्कीले कोही पनि तर्सिनेवाला छैन।’

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।
पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप लगाइएको हो।
नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको बताउँदै आएका छन्।
सम्बन्धित समाचार
भीम रावल समूहद्वारा नेकपा सुदूरपश्चिमको खाता कब्जा, झिकियो ३० लाख