लिटल फ्लावर प्रिमियर लिगः काठमाण्डौँको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा
धनगढीः धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाण्डौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलबार भएको दोस्रो खेलमा काठमाण्डौँकै नेक्सस स्कूललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। उसका लागि उत्तम थापाले ३२ रन बनाए। बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए।
१ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित ४३ रन बनाए भने, नेक्ससका पप्पु रायले ३ विकेट लिए।
खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए।
योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टीमको टुङगो लागेको छ। यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन्।
यस्तै मंगलबार भएको दोस्रो खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले पराजित गरेको छ। शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो। स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा जोड्न सकेनन्। स्टेपिङलाई सस्तैमा समेट्न शारदाका विकास सुनार र गणेशबहादुरले समान ४/४ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो। शारदाका लागि सुदिप रोकायाले ३४ रन बनाए। उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए। त्यस्तै सागर चन्दले २६ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २/२ विकेट लिएका थिए।