सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता : दशरथचन्द र खलङ्गा फाइनलमा

२०७७ फाल्गुन २४, ०६:५६ रासस

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ दशरथचन्द र वडा नम्बर ४ खलङ्गा भिड्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनमा वडा नं ८ त्रिपुरालाई ५२ रनले पराजित गर्दै दशरथचन्द फाइनलमा प्रवेश गरेको हो । यस्तै वडा नम्बर १० बाराकोटलाई २६ रनले स्तब्ध पार्दै खलङ्गा उपाधि नजिक पुगेको हो । दशरथचन्द खेल मैदानमा दशरथचन्दले दिएको १५३ रनको लक्ष्य पछ्याएको त्रिपुराले १०४ रन मात्रै बनाउन सक्यो । 

उसका लागि सञ्जय धामीले सर्वाधिक २९ रनको योगदान गरे पनि हार टार्न सकेन । दशरथचन्दका भोज चन्द, रविन चन्द र राजेन्द्र भट्टले समान २/२ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दशरथचन्दले ८ विकेटको क्षतिमा १५२ रन बनायो । आकाश रावलले अविजित ५२ रनको पारी खेले । त्रिपुराका सन्तोस चन्द र जगदीश मौनीले ३÷३ विकेट झारे । दशरथचन्दका लागि अर्धशतकीय पारी खेलेका आकाश चन्द म्यान अफ द म्याच चुनिए । 

यस्तै अर्को खेलमा खलङ्गाले दिएको १३५ रनको लक्ष्य पछ्याएको त्रिपुराले १०८ रन मात्रै बनाउन सक्यो । त्रिपुराका लागि प्रकाश बुडालले ४८ रन जोडे ।  खलङ्गाका विक्रम चन्द र प्रदीप चन्दले २/२ विकेट हात पारे । त्यसअघि खलङ्गाले ४ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । 

उसका लागि लोकेश चन्दले नटआउट ५५ रन हिर्काए । बाराकोटका दिनेश बुडालले २ विकेट लिए । लोकेश म्यान अफ द म्याच घोषित भए । आज विजेता दुवै टोलीबीचको भीडन्त मङ्गलबार सोही मैदानमा हुनेछ । विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार हात पार्नेछन् । 

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना सञ्चालित प्रतियोगितामा ११ टोली सहभागी थिए ।  

कमेन्ट लोड गर्नुस