सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाइने, कुन जिल्लामा कति खोप केन्द्र ?

२०७७ फाल्गुन २३, ०६:५८ नारायण अवस्थी

धनगढीः सुदूपश्चिम प्रदेशमा आजदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने भएको छ।

प्रदेशको ९ वटै जिल्लाको ७ सय ३५ खोप केन्द्रबाट आज (आइतबार) देखि चैत्र १५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो।

दोस्रो चरणमा प्रदेशका ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप दिने सरकारको तयारी छ। ५५ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी भएपनि १ लाख २० हजार खोप मात्रै संघीय सरकारले पठाएको कारण सुरुमा ६५ वर्षमाथिकालाई खोप दिने तयारी गरिएको बताइएको छ।

सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता एंव स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधि पत्रकार र अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी गरी ३८ हजार ३ सय २ जनालाई खोप दिइएको थियो। दोस्रो चरणमा भने ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्याको विवरण तयार गरिएपनि संघीय सरकारले १ लाख २० हजार खोप पठाएकोले अहिले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने र थप खोप आएपछि ५५ वर्षमाथिकालाई समेत कोरोना विरुद्धको खोप लगाइने प्रवक्ता कार्कीले जानकारी दिए।

सबैभन्दा बढी जनसंख्या रहेको कैलाली जिल्लामा ५५ वर्षमाथिका सबैलाई खोप दिने तयारी रहेको बताइएको छ। फागुन २३ गतेदेखि २७ गतेसम्म धनगढी उपहानगरपालिका, गौरीगांगा, लम्कीचुहा र टीकापुर नगरपालिकामा खोप अभियान चलाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाइएको छ।

दोस्रो चरणमा प्रदेशका ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप दिने सरकारको तयारी छ। ५५ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी भएपनि १ लाख २० हजार खोप मात्रै संघीय सरकारले पठाएको कारण सुरुमा ६५ वर्षमाथिकालाई खोप दिने तयारी गरिएको बताइएको छ।

कैलालीमा ५५ वर्षमाथिको जनसंख्या १ लाख १८ हजार रहेको भएपनि आवश्यकताभन्दा थोरै जम्मा ४७ हजार खोप आएको कारण यो पटक ४ स्थानीय तहमा खोप अभियान चलाउने र थप खोप प्राप्त भएपछि अन्य स्थानीय तहका ५५ वर्षमाथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप दिने योजना रहेको बताउँछन् स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामी।

कैलालीपछि बढी जनसंख्या भएको कञ्चनपुर जिल्लामा भने २६ हजार खोप प्राप्त भएको जनाइएको छ। फागुन २३ गतेबाट सुरु हुने दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान जिल्लाका सबै स्थानीय तहमा रहेका २९ वटा खोप केन्दबाट दिने तयारी रहेको जनाइएको छ। दोस्रो चरणको लक्षित समूहका लागि सम्बन्धित खोप केन्द्रमा खोप पुगाउने प्रवन्ध समेत मिलाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।

दोस्रो चरणमा प्रदेशका ९ जिल्लाका ७ सय ३५ खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ।

दोस्रो चरणको खोप अभियान चैत १५ गतेसम्म सञ्चालन गरिने र पहिलो चरणमा छुटेका लक्षित समुहका व्यक्तिलाई समेत खोप लगाइने बताइएको छ। 

दार्चुलामा ७८ खोप केन्द्रबाट जिल्लाका ७ हजार, बैतडीमा ४८ खोप केन्द्रबाट १३ हजार, डोटीमा ६५  खोप केन्द्रबाट १० हजार ५ सय, बाजुरामा ६९ खोप केन्द्रबाट ७ हजार, अछाममा २ सय ५६ केन्द्रबाट १४ हजार ४ सय ९०, डडेलधुरामा ५२ खोप केन्द्रबाट ९ हजार ८ सय ८२ र बझाङमा  ४८ खोप केन्द्रबाट ९ हजार ५ सयलाई खोप लगाउन मिल्ने गरी कोभिसिल्ड खोप प्राप्त भएको जिल्लास्थित स्वास्थ्य कार्यालयहरुले जनाएका छन्।

प्रदेश सरकारले भने संघीय सरकारबाट थप खोप उपलब्ध हुनासाथ लक्षित समुहमा रहेको ३ लाख ६२ हजार जनसंख्यालाई नै खोप दिने योजना रहेको बताएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस