एलपीएल : हिमालयन ह्याइट हाउसको दास्रो जित, बाल बाटिकाको सुखद सुरुवात
धनगढी: धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तरगत बुधबार भएका खेलमा कैलालीको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन्।
पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो। न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेले। उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको जितका लागि पर्याप्त हुन सकेन।
न्यू एकेडेमीका लागि समिर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन्। बलिङतर्फ बाल बाटिका लागि कमल कुँवरले तीन विकेट लिए। त्यस्तै हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले समान दुई/दुई विकेट लिए। कमल ओलीले एक विकेट लिए।
न्यू एकेडेमीले दिएको १ सय १२ रनमो लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। बाल बाटिकाको जितमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराट सिंह भण्डारीले ३० रनको योगदान दिए। बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक÷एक विकेट लिए। खेलका म्यान अफ द म्याच बाल बाटिकाका कमल ओली भए।
दोस्रो खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ। टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो। उस्का लागि दीपक बोहराले ९३ र सुदिप बस्नेतले २३ रन बनाए।
शारदाका अरुण धामीले २ तथा नागराज सिंह र दीपक रोकायाले १/१ विकेट लिए। १ सय ९३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो।
शारदाका लागि दीनेश ओडले ९० र अर्जुन साउँदले २३ रन बनाए। ह्वाइट हाउसको जितमा सन्दिप जंग शाहीले ४ र रजत तिमिल्सिनाले २ विकेट लिए। खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका सन्दिप जंग शाही भए। दुई खेलमा जित हात पारेको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन्। आयोजकका अनुसार भोलि पहिलो खेल लिटल फ्लावर र शारदा मावि तथा दोस्रो खेल धनगढी नमुना र स्टेपिङ स्टोनबीच हुनेछ। प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ।