दोस्रो कञ्चनपुर क्रिकेट कपको खेलतालिका सार्वजनिक
धनगढी: दोस्रो कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
दोस्रो पालिकास्तरीय कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिता महेन्द्रनगरस्थित कबडहलको खेलमैदानमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका टिमको सहभागिता रहने र उद्धघाटन खेल भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाबीच हुने बताइएको छ ।
सहभागी टिम महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाका रहेका छन् । प्रतियोगिताको च्याम्पियन टिमले नगद १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार, मेडल, प्रमाणपत्र र ट्रफी हात पार्ने छन् ।
प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको उक्त प्रतियोगितामा यू–१९ उमेर समूहका ५ जना खेलाडी अनिवार्य राख्नुपर्ने जनाइएको छ । प्रतियोगिता लिग कम नकाउटको आधारमा फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।