सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी

फोटो : महेन्द्र बम
फोटो : महेन्द्र बम
२०७७ फाल्गुन १७, ०६:०३ खबर संवाददाता

धनगढी: धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग(एलपिएल) अन्तरगत सोमबार भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको छ। 

आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो। 

उसका लागि अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए। बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाले २/२ विकेट लिए। 

१ सय ७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो। उसका लागि खुम चौधरीले अविजित रहदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दिप विष्टले ३, सुरेश रावल र अनिल थापाले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए। 

प्रतियोगिता अन्तरगत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो। उस्का लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए। 

हिमालयन ह्वाइट हाउसका लागि गजेन्द्र बोहराले ५ र सन्दिप शाहीले ३ विकेट लिए। ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्याइट हाउसले ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। 

उसका लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए। बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १/१ विकेट लिए। खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए। लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन्।

प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ। 
 

कमेन्ट लोड गर्नुस