सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौदेखि बाजुरासम्म खिचिने ‘चिसो मान्छे’को छायांकन सुरु

२०७७ फाल्गुन १७, ०४:३७ खबर संवाददाता

काठमाडौं : नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ। दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको हो। 

शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ।

फिल्मको छायांकन सुदूरपश्चिमको बाजुरा जिल्लाको एक गाउँमा पुगेर सकिने निर्माण पक्षले जनाएको छ।

एक महिनाअघि निर्देशक खनालसहित फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र देशभक्त खनाल बाजुरा पुगेर छायांकन स्थलसहित त्यहाँको भाषा र भेषभूषा अवलोकन गरेर फर्किएका थिए।

मुख्य भूमिकामा रहेकी अभिनेत्री खड्का सुदूरपश्चिकी युवतीका रुपमा देखिँदैछन्। उनले फिल्ममा बाजुराको लवजमा संवाद बोल्नेछिन्।

त्यहाँकी युवतीका रुपमा आफूलाई प्रस्तुत गर्न अभिनेत्री खड्का केही दिन बाजुराको गाउँमा पुगेर स्थानीय युवतीसँग घुलमिल भएकी थिइन्। 

चलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले बताएको छ । 

कमेन्ट लोड गर्नुस