सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

२०७७ फाल्गुन १६, ०३:२२ रासस

याङ्गुन: म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । 

सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ । सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुन समेत देशका सबैजसो सहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

यसै महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन । 

आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई सहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।

उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेहरुलाई रबरको गोली लागेको बताए । उनले गोली लागेका व्यक्तिहरु अस्पतालमा ल्याउनेक्रम रहेकाले घाइते वा मृतकको संख्या अरु बढ्न सक्ने जानकारी दिए ।

म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो । सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौं नेतालाई गिरफ्तार गरेको छ । 

सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अरु कैयौं देशले विरोध गरेका छन् । आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।

कमेन्ट लोड गर्नुस