सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेट्रान पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघ कैलालीलाई

२०७७ फाल्गुन १६, ०७:३३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना गरिएको भेट्रान पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघ कैलालीले जितेको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागको आयोजना र नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ को समन्वयमा शनिबार कृष्ण मावि कृष्णपुरको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सहिद मदनलाल जोशी, शास्त्री निर्मल ओझा, गोपाल दत्त जोशीको स्मृतिमा सर्वाधिक धनराशि भएको पेनाल्टी सुट आउट फुटबल प्रतियोगिता–२०७७ को फाइनल खेलमा सरस्वती मावि बेदकोट नगरपालिका धरमपुर कञ्चनपुरलाई निर्माण व्यावसायी संघ कैलालीले ३–२ को गोल अन्तरले पाखा लगाउँदै प्रतियोगिताको च्याम्पियन बनेको हो भने सरस्वती मावि उपविजेता भएको छ ।

विजेता अर्थात् च्याम्पियन टिम निर्माण व्यावसायी संघ कैलालीले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद धनराशि प्रमाणपत्र मेडल र ट्रफी हात पारेको छ । यो संगै उपविजेता हुने टिम सरस्वतीले ५१ हजार १ सय ११ रुपैयाँ मेडल प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी महेन्द्रनगर युनाइटेडका चन्द्र सिंह थलाल भएका छन् । उनले नगद ५ हाजर १ सय ११ रुपैयाँ पुरस्कार र ट्रफी हात पारेका छन् ।

खेलकुद विकासका लागि भेट्रान टिमको पनि त्यतिकै आवश्यकता र महत्त्वपूर्ण भुमिका रहदै आएको हुँदा अबका खेलाडीलाई पनि केही सकारात्मक प्रभावसंगै यस्ता प्रतियोगिताको मनन गरी फुटबल विकासमा ठुलो सहयोग पुग्ने हुँदा फुटबलको आयोजना गरिएको प्रतियोगिताका संयोजक ज्ञानेन्द्र बहादुर सिंहले बताए । उनका अनुसार प्रतियोगितामा कैलाली र कञ्चनपुरका २९ वटा भेट्रान टिमको सहभागीता रहेको थियो ।

प्रतियोगिताका सभापति संयोजक ज्ञानेन्द्र बहादुर सिंह, प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सिँचाइमन्त्री एनपी साउँद र विशिष्ट अतिथी नेपाली काँग्रेस केन्द्रीय सदस्य, पुर्व सूचना तथा सञ्चारमन्त्री नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका संयोजक मोहन बहादुर बस्नेत रहेका थिए । त्यस्तै प्रतियोगितामा खेलकुद क्षेत्रमा आवद्ध संघसंस्थाका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।

कमेन्ट लोड गर्नुस