सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, विद्या भूषणको विजयी सुरुवात

२०७७ फाल्गुन १५, ०५:२४ खबर संवाददाता

धनगढी : धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ।

धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो। 

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो। 

उस्का लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए। बलिङमा विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले २÷२ तथा सञ्जय केसीले १ विकेट लिए। 

१ सय ५३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। 

विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरे। मल्लले ७० र नाथले ३७ रन बनाए। 

नरेन साउँदले अविजित रहदै २६ रन बनाए। लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टीमलाई जिताउन सकेनन्।

खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए। 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो। यसअघि प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उद्घाटन गरे। 

प्रतियोगिताको उद्घाटन गर्दै मेयर ओडले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै खेलकुद प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्नेमा जोड दिए। 

लिग कम नक आउटका आधारमा प्रतियोगिता भईरहेकोे लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको शाहीले जानकारी दिए। 

काठमाडौँ र कञ्चनपुरका २÷२, रुपन्देही र दाङका एक÷एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्।

यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ। म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन्।
 

कमेन्ट लोड गर्नुस