सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली युवक मृत्यु प्रकरणः हत्या गरेको आशंकामा १२ जना नियन्त्रणमा

२०७७ फाल्गुन १५, ०३:१८ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण राना मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। 

ईलाका प्रहरी कार्यालय मालाखेतिले मृत भेटिएका रानामाथि धारिलो हतियार प्रहार भएको पाइएपछि हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको छ। 

सोही क्रममा सोधपुछका लागि १२ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले दिनेशखबरलाई बताए। 

उनले उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको बताए। उनीहरुको नाम भने खुलाइएको छैन। 

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।

प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ।

घटनास्थल मुचुल्का लगायतको काम सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस