महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो।
यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो। फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत छन्।
गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। खड्का हाल एन्फाको महिला फुटबल विभाग प्रमुखका रुपमा कार्यरत छन्।
यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एशियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण छिट्टै शुरु गर्ने जनाएको छ। एन्फाले गत माघ ७ देखि फागुन ७ गतेसम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरिने एन्फाले जनाएको छ।