जिन्दगीका रैला र रयाडहरू
सुदूरपश्चिममा धामीले देउता काँप्दा प्रयोगमा आएको शब्द हो रैलो । जसको अर्थ हुन्छ सन्देश वा खवर । रयाड सुदूरपश्चिमका आम जनमानसले प्रयोगमा ल्याएको शब्द हो जसको अर्थ हुन्छ अवशेष,छाप,प्रमाण । मान्छेदेखि अन्य प्राणीहरू कसैलाई पनि पछ्याउँदा वा खोज्दा कुन बाटो कुन दिशातिर गएको रहेछ भनी थाहा पाउन अनुमान गर्न सकिने प्रमाणहरू नै रयाड हुन् । उदाहरणका लागि लत्रेका बुट्यानहरू, पदचापहरू, बाटामा देखिएका रगतका टाटाहरू आदि । अझै भन्ने हो भने जिन्दगीको दौरानका क्रममा देखिने वा फेलापार्न सकिने वा अनुमान गर्न सकिने प्रमाणहरू नै रयाड हुन् । ती रयाडहरू भावनात्मक, वस्तुपरक वा यथार्थपरक जे पनि हुन सक्दछन् । हिजो आज यस्ता पुराना ठेट शब्दहरू प्रायः लोपोन्मुख छन् । बिभिन्न समयमा कैयौ लोक कबिहरुले छोडेर गएका गीतका पंक्तिहरुले पनि बोकेकाछन् त्यो समयको रयाड ।
यो संसारमा कैयौं फकिरहरूले जीन्दगीको मोडैपिच्छे अनेकौँ सन्देश छोडेर गए । प्रमाणहरु छोडेर गए । मध्य तथा सुदूरपश्चिममा पनि थिए केही फकिरहरु । जो परिवार भएर पनि परिवार भए जस्ता थिएनन । आफ्नै मस्तीमा हुन्थे । गाउँगाउँमा बिभिन्न चाडपर्वका बेला डेउडा गीत मार्फत सवालजवाफ गर्दै दिन रात बितेको पत्तो पाउदैनथे । डोटीका हँस्वा कानो, चल्ले साइ (खण्टे खड्का), ठगी महरा, गगन साउँद, देउराम बलायर, गंगाराम बलायर, गोपाल पार्की, लाले बैदार, देउरे सुर्काली, गिण्ण महारा, धौली डमरी, अछामका भोरलङ स्वार, देवानन्द तिमिल्सिना र नामसरी,बझाङका गोबिन्द डिठ्ठा, बाका साउँद,दलबीर सिह,गुण्टे बुढा,गजे पुजारा,हरिमल बिष्ट, गोपि रावल,शंकरलाल थापा, मानवल बिष्ट,गिठू सिंह, अफिलाल सिंह,गिठे लुहार,बिर्कु कठायत,शोभान ओली, गोरे छ्यली, शेरबहादुर सिंह, झीरू, बिसु लगाएतका कैयौ डेउडीयाहरुले निकै नै चर्चा कमाएका थिए कुनै समयमा ।
जुन गाउँमा डेउडा खेलको आयोजना हुन्थ्यो त्यहाँ सम्मान स्वरुप शिरमा सेतो मार्किनको कपडाको पगडी पहिराइन्थ्यो ती डेउडियाहरुलाई । तिनीहरुले पनि माया प्रेम र जीवन जगतका बारेमा सवालजवाफ गर्दथे । ताजमहल बनाएर प्रेमको निशानी छोडेर गए शाहन शाहले । त्यही ताजमहलका बारेमा कैयौ कबि लेखकहरुले आफ्ना सिर्जनाहरु पस्के । सुदूरपश्चिमका डेउडियाहरुले धेरै अगाडि नै त्यस्ता ताजमहल कल्पनामा बोकिसकेका थिए । डेउडा गीतका मध्यमबाट सम्बोधन गरिसकेका थिए । र प्रेमका कयौ गीत गाइसकेका थिए । सम्राटहरुले गर्ने गरेको थिचोमिचो र अन्याय अत्याचार असमानताका बारेमा समेत सालिन ढंगले डेउडा गीतका माध्यमले बिरोध जनाइ सकेका थिए ।
कसैखि सुनकि हार कसैखि पोते नाइ
कसैखि बासमति चामल कसैखि कोदे नाइ
सदियौ अघिदेखि सुनिदै आएका यस्ता कैयौ गीतहरु छन् । फरक यति हो सुदूपश्चिमका डेउडियाहरु र आध्यात्मिक जगतका मुक्तात्माहरुले पुकार्ने गरेकी प्रियसी छुट्टा छुट्टै थिइन । ती मुक्तात्माहरुले प्रियसी भनेर परमात्मालाई पुकारे । तिनकै दर्शनका लागि आफ्नो जिन्दगीको छुट्टै गोरेटो तय गरे । जिन्दगीलाई लगनको कलशझैँ सजाएर बाँचे । छोडेर गए जिन्दगीको रयाड । साहित्यिक जगतका फकिरहरुले आफ्नो समयको सामाजिक बिक्रिति देखि जीवन र जगत सम्बन्धी दृष्टिकोण छोडेर गए । गीतका माध्यमबाट त्यतिखेरको समय र समाजको यथार्थ चित्रण सहितको रयाड छोडरे गए सुदूरपश्चिमका लोक कबिहरुले पनि । ती लोककविहरु पनि समय र परिस्थितिको शिकार बनिरहे । बाध्यता र विवशताको तिरमा टोलाइरहे । राज्यशत्ताको हेराइबाट निकै नै टाढाका बनिरहे । समाजमा अझै बिद्यमान रहेको उही उचनिच र छुवाछुतको खाडल देखिरहे । आम मान्छेहरुझैं धकेली रहे जिन्दगीका पटराहरु ।
यहाँ मान्छे जे गरेर भए पनि धन सम्पत्ति जोड्नु पर्छ, चिल्ला गाडी चढ्नु पर्छ, ठूलाठूला महल बनाई सहरको रमझममा जिन्दगी सजाउनु पर्छ भन्ने सोचले ग्रसित भैरह्यो । बारम्बार घुम्तीमा लडिरह्यो । यो मानवरूपी निरीह र दुःखी प्राणीले घुषको खेती गरिरह्यो । दम्भको बीऊ छरिरह्यो, चाटुकारिताको मन्त्र रटिरह्यो । ढोंगी बन्यो । बेइमान बन्यो । शोषक बन्यो । र जीवनका घुम्ती भित्र छोडिरह्यो यस्तै यस्तै रयाडहरू ।
वर्षौ पछि आज आएर गाउँघरतिरका दृश्यहरू घटनाहरू सबै यादका झिल्का बनेर मस्तिष्कमा टल्पलाइ रहेका छन् । लामो समयसम्म बेखबर रही परदेशका गल्लीहरूमा रूमल्लिरहेको पुत्रका बारेमा चिन्ता प्रकट गर्दै घरमा सेताम्मे भएकी बूढीआमाले चामलको थालमाथि दीयो र भेटी (रूपैया) राखी परदेशीको हालखवर बुझ्न धामी झाँक्रीलाई सोध्ने क्रममा उनीहरूले आफ्नो भाषामा (........ घड्यौला सम्म क्यै रैलो सुणाउन सकिहाले ब्याँगेडा दिएइ नति जनदिएइ अर्थात ...... दिनसम्म केही सन्देश खवर सुनाउन सकेँ भने मलाई पूजा सामग्री दिनू नत्र मलाई नपुज्नू वा पूजा सामग्री नदिनू ) भन्दै गर्दाको दृश्यदेखि गाउँघरतिर त्यस्ता परदेशीको बारेमा बुझ्न विगतमा आगोमा नूनको ढीका राख्ने र नूनको ढीका पड्केमा सञ्चै रहेछ भनी बुझ्ने जस्ता मनभरी सल्बलाएका दृश्यहरूले आज सोच्न बाध्य तुल्याइ रहेका छन् ः जीवन आफ्नो खुसी मात्र रहेनछ । बाध्यता विवशता र अरूप्रतिको जिम्मेवारीको अर्को रूप पनि जिन्दगी नै रहेछ । यदि मान्छेमा अलिकति पनि कल्पनाशिलता र संवेदना छ भने जिम्मेवारी शब्दले धेरै ठूलो क्षेत्र ओगटेको कुरा थाहा पाउन सकिन्छ जस्तै घर परिवार,समाज,भाषा, कला,संस्कृति,राष्ट्र आदिप्रतिको जिम्मेवारी । तर हिजोआज पित्तलमा सुनको जलप लागेझैँ जिम्मेवारी शब्दमा केवल आदर्शको जलप लागेको छ । स्वार्थ र लिप्साले जर्जर भइरहेछ मानव जिन्दगी । ढोंगी बनेका छन समाज र राष्ट्रका अगुवाहरू । केवल धन सम्पत्तिभित्र सुख खोजिरहेछ आजको मान्छे त्यसैले उसले कहिल्यै जिन्दगीको उपचार पाउन सक्दैन ।
यो समस्या नै समस्याले गुजुल्टिएको संसारमा मान्छेको जिन्दगी सधैँजसो नापतौलको तराजु बनिरह्यो । मान्छेले केवल आदर्शका मन्त्र फलाकिरह्यो । स्वतन्त्रताका शब्दहरू उचालिरह्यो । सम्भाव्यताका सूत्रहरू निर्धारण गरिरह्यो तर निमुखा र गरिबको दशा उस्तै देखियो । टाठाबाठाहरूले आफ्नो रबैया चलाइ नै रहे । मान्छेमा अहंकार र दम्भको जङ्गल कुरीको झार बढेझैँ बढि नै रह्यो । थाहा छैन यहाँ स्वतन्त्रता कुन कसीमा घोटिन्छ ? सम्भाब्यता कुन तराजुमा तौलिन्छ ? गरिव र निमुखाका जीवनका ती घुम्तीहरू सम्झनारूपी आयामहरू कुन फिताले नापिन्छन् अनि जिन्दगीका कुइनेटाहरूले कस्तो रैलो (सन्देश) सुनाउँछन् ।
सीता ल्याउने हनुमान पगडी पाउने ढेडु भनेझैं हुने खानेकै बोलबाला देखिन्छ सधै । दिनप्रतिदिन निर्धा सोझा र गरिबको हड्डी सोसेर ताज पहिरने सम्राटहरुको बिगबिगी बढी नै रह्यो । तर पनि बढी मात्रामा ती सम्राट भनाउदाहरु नै छटपटाइ रहे । सुविधाको खोजीमा भौतारिइरहेको मान्छे अझै सुनिरहेको छैन आवाजबिहीनको आवाज । भुल्दै छ आज आफ्नो अतीत । भुल्दैछ आफ्नो भाषा संस्कृति र सभ्यता । विनाश गर्दैछ तराइका चारकोशे जङ्गल । आकाशमा उड्दैछ के के न पाउने आशमा – कहिले यूरोपतिर त कहिले खाडिमुलुकतिर । त्यो शालनाल गाडिएको धर्ती जहाँ उसका पदचापहरु छुटेकाछन् । जहाँ विगतका यादका केही रयाडहरू भेटिन्छन् ती सबै भुलिसक्यो । धेरै पछि आज सम्झनाको लस्कर यो मनमा आइरहेछ । त्यो सम्झना त्यही जन्मभूमिको हो । त्यही माटोको हो जुन माटोले उभिन सिकायो । हिँड्न सिकायो । जहाँ जिन्दगीका केही रयाडहरू छुटेका छन् । उमङ्गका धर्साहरू छुटेका छन् । र छुटेका छन् बाल्यकालमा नापेका गोरेटाहरू साथै किशोरावस्थामा थकाइ मारेका चौतारीहरू ।
आज आफैँलाई प्रश्न गर्दै छु ः के कमाउन कुन सुख भेटाउन म यो सम्राटहरूको सहरमा यो कंकृटको जङ्गलमा छिरेँ ? किन दुखाइरहेँ जिन्दगीलाई ? उत्तर भेटाउन कहाँ सजिलो हुन्थ्यो र । विज्ञानले आफ्नो चमत्कारी देखाइरहेको डरत्रास फैलाइरहेको यो दुनियाँमा मान्छेको जिन्दगी सधैँभरि दुखीरहेछ । गल्ली गल्लीमा मरिरहेछ । ठूलाठूला महलहरूमा मरिरहेछ । फिराक गोरखपुरीले भनेझैँ यहाँ मृत्युको उपचार बरू हुन सक्ला तर जिन्दगीको उपचार नै छैन । सडक किनाराको यात्रा गर्दा होस् या चिल्लो गाडीमा यात्रा गर्दा होस् या आकाशमा पन्छी जस्तै उडिरहँदा नै किन नहोस एक्काइसाँै शताब्दीको मेसिन जस्तो जिन्दगी धान्ने क्रममा सधँै थकित अनि अत्तालिएको मनले यादका सुमधुर पलहरूलाई न धेरै सम्झिन फुर्सद पाउँछ न चटक्क बिर्सिन सक्ने क्षमता राख्छ ।
जन्मभूमिबाट टाढा रहेको दुइ दशक बितिसक्यो बिचबिचमा कहिले काहीं एक दुर्ई दिनको निम्ति जन्मभूमि तिर पदचापहरू बढाए पनि त्यहाँका चाडपर्वहरूमा सहभागी हुन सकेको छैन । त्यो पहाडको चिसो पानीको तिर्सनाले पछ्याइ रहेछ । सेतीमा बल्छी थाप्ने र बग्रेठा बटुल्ने मनहरूसँग रमाउने इच्छा जागेको छ । पछाडि फर्केर जिन्दगीका गल्छीहरू एकतमासले हेर्ने अभिलाशा उस्तै छ । बाल्यकालमा चैते बतास सरी हल्लिनु जवानीमा उकाली ओराली गर्दै पसिना चुहाउनु अनि ढल्दै गरेका जवानीका दिनसँगै अतीतलाई सम्झेर नोस्टाल्जियामा हराउँदै एकान्तमा त्यही सम्झनाको चुइगम चपाउनु न हो जिन्दगी । शायद त्यही भएर होला म आज त्यही नोस्टाल्जियामा हराउँदै छु जहाँ सिमसिमे पानीमा भिज्दै नापेका जीवनका गोरेटाहरू छन् । हिमदृश्य हेर्दै तेलेको लेकमा डिङडिङ बज्ने भैँसीको घाडो सुनेर केही समय बिताएका पलहरू छन् र छ संगीत,कला,संस्कृति र सौन्दर्यको गहन स्थान ओगटेको भूभाग । दिनरात त्यहाँका तिनै पाखा पखेराहरूमा मनका सुसेली घन्काउने अभिलाशा बढीरहेको बेला खोला झर्ना र छाँगाका ती तरङ्गहरूलाई सम्झनाका तरङ्गहरूले स्पर्ष गरिरहेकै छन् । तिनै सम्झनाका बस्तीभित्र यादका रयाडहरू आत्मीय बनेर फुलेका छन् । यतिखेर सम्झानामा आइरहेछन हिमालयराज भट्टले गाएका गीतका दुइ पंतिm
कै बन है चरी उड्यो कै बन बास भयो
उइ ठाउँको पधेरो छुट्यो यै ठाउँको आश रह्यो
त्यो छुटेको ठाउँ परदेशीको लागि घरदेश हो । त्यो आश यतिखेर रेमिटान्समा परिणत भएको छ । गाउँ छोडी सहर आउनेका लागि त्यो आश आँखाकान उघार्ने माहोल हो । दुइचार पैसा कमाउने लक्ष्य हो । समयसँगै बिकसित हुँदै गएको सभ्यता हो । अझै भन्नु पर्दा छुटेको बिगत पँधेरो हो भने उसले हेर्न खोजेको आशको किरण भबिष्य हो । यो मुलुकमा अहिलेकै परिस्थितिमा त्यो भविष्यको अनुमान गर्न पनि कहाँ सजिलो छ र । मात्र बिरह र वेदनाका भाकाहरु आइपुग्छन स्मृतिपटलमा । गरिब र असहायहरुका कारुणिक गुञ्जन सुनिन्छन एकान्तमा ।
निउरो पलाइरदो खोलीका किनार
अभागीका दिन जोखि देऊ सुन जोख्ने सुनार
खोलीको किनारतिर लुकिछिपि पलाएको निउरोसँग दाजिएकोछ जिन्दगी । कतिखेर जोख्छ समयले मान्छेका दिनहरु थाहा छैन । मान्छेले न मान्छेका दिन जोख्न सक्छ नत मन नै । मात्र गीतका माध्यमबाट सुनाउन खोजिरहेछ स्रष्टाले जिन्दगीको आलाप । हिँडेकै छ जिन्दगीको गोरेटो । लमतन्न परेकै छन् अभावका पुलहरु ।
गाउँघरतिर सुनेको चल्लेसाइको इतिहास सम्झाउँछ यो मनले । शशीको पूर्ण कलालाई देखेर चातक पन्छीले हेरेको हेरेइ गरेझैँ कैयौँपल्ट बादलले लुकामारी खेल्दै गरेको पश्चिमको त्यो गगनलाई हेर्न लालायित हुन्छु फेरि । जूनेली रातमा छल्किने सेती कर्णालीका ती छालहरूले मनभरि यादका तरङ्गहरू फ्याकिरहन्छन । यादैयादले चिरिएको मुटुको धड्कन छाम्न सक्ने प्राकृतिक सौन्दर्य यहाँ देखिँदैन । स्नेहिल पाराले सुम्सुम्याएर जाने चिसो बतास पनि यहाँ चल्दैन । यो जिन्दगी यस्तै छ कतै चिप्लिन्छ, कतै लड्छ, कतै बल्झिन्छ, कतै फुल्छ, कतै ओइलाउँछ, मोडैपिच्छे आफ्ना अनेकौँ रूप देखाई रहन्छ । आफ्नै मुलुकमा पनि बाटो खोज्दै हिँडेको,बास खोज्दै हिँडेको बिदेशी पर्यटक जस्तो भइदिन्छ कहिलेकहीँ । एकातिर अन्याय र अत्याचार झाँगिदै गइरहेछ । न्याय र अस्तित्वको लडाइ चलिरहेकै छ । अर्कोतिर सहरका सम्राटहरुको हैकम उस्तै छ । रातकारात च्याउ उम्रेजस्ता उम्रिरहेकै छन् छोटेराजनहरु पनि । समयका रयाडहरु कतै इतिहास बने कतै मौखिकरुपमै हराए । समयचक्र अनुसार नै चलिरहे जिन्दगीका पाङ्ग्राहरु । यो सारा दृश्य मनन गरिरहँदा सुनिन्छन डोटीका श्रष्टा तेज पुरुषका यी पंक्तिहरू ः
फलामले आकार पाउन मेरै घर आउनु पर्छ
दुलही सुनले सजाउन मेरै घर आउनु पर्छ
तरवार त तमी बजारमा पनि किन्न सक्छौ
तरवारमा धार लगाउन मेरै घर आउनु पर्छ