सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको ठेक्कामा राखिएको २ वटा सर्टिफिकेटको प्रावधान हटाउन माग

२०७७ फाल्गुन ६, ०४:३२ जनक विष्ट

धनगढीः कैलालीका निर्माण व्यवसायीहरुले गेटा मेडिकल कलेजले आह्वान गरेको ठेक्कामा राखिएको प्रावधान संशोधन गर्न माग गरेका छन्। बिहीबार प्री–बिडिङ अथात् ठेक्का लगाउन पूर्व बसेको बैठकमा निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट लिखित पत्र बुझाउँदै व्यवसायीहरुले ६२ करोड लागतका २ वटा आरसीसी भवन निर्माण गरेको सर्टिफिकेट पेश गर्नुपर्ने प्रावधान संशोधन गर्न माग गरेका हुन्। 

गेटा मेडिकल कलेजका इन्जिनीयर पवन रावलले व्यवसायीहरुले ठेक्का आह्वान गर्दा राखिएको सो प्रावधान हटाउन माग गरेको दिनेशखबरलाई बताए। उनीहरुले मेडिकल कलेजले टेण्डर हाल्न इच्छुक निर्माण व्यवसायीले बितेको १० वर्षमा भ्याट बाहेक ६२ करोड लागतका २ वटा आरसीसी भवन निर्माण गरेको सर्टिफिकेट पेश गर्नुपर्ने प्रावधान संशोधन गरेर एउटा मात्र कायम गर्न माग गरेको रावलले जानकारी दिए। 

निर्माण व्यवसायीहरुले राखेको मागका विषयमा बैठकमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको इन्जिनीयर रावलले जनाए। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निमित्त निर्देशक चेतराज जोशीले अहिले कार्यकारी निर्देशक भीमबहादुर साउद धनगढी बाहिर भएका कारण तत्काल कुनै निर्णय हुन नसकेको बताए।    

सार्वजनिक खरिद नियमावलीमा रहेको प्रावधानअनुसार नै भवन निर्माण सम्बन्धी ठेक्का हाल्न इच्छुक निर्माण व्यवसायीबाट २ वटा सर्टिफिकेट माग गरिएपनि आवश्यकताअनुसार संशोधन गर्न सकिने विकल्प पनि खुला रहेकाले छलफल गरिने उनले जनाए। गेटा मेडिकल कलेजले करिब १ अर्बको लागतमा निर्माण हुने भनिएका ७ वटा भवनका लागि जारी गरेको टेण्डरमा सम्बन्धीत निर्माण व्यवसायीले यसअघि ६२ करोड बराबरका २ वटा आरसीसी भवन निर्माण गरेको हुनुपर्ने प्रावधान राखेको छ।  

मेडिकल कलेज आफैले यसअघि आह्वान गरेका टेण्डरमा एउटा मात्र सर्टिफिकेट माग गरेकोमा पछिल्लो पटकको टेण्डरमा २ वटा सर्टिफिकेट माग गर्नुले  मिलेमतोको आशंका उब्जिएको कैलालीका केही निर्माण व्यवसायीहरुले बताएका छन्। तर मेडिकल कलेजले भने सार्वजनिक खरिद नियमावलीमा राखिएको प्रावधान अनुसार नै छिटोछरितो काम सम्पन्न गर्ने उद्देश्यले दुई वटा सर्टिफिकेट माग गरिएको बताउँदै आएको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस