मुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि, मेची–महाकाली परिक्रमा गर्ने
काठमाडौं: वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना हुने ‘मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३’ को कार्यतालिका सार्वजनिक भएको छ। रथयात्रा आगामी कात्तिक ८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज मुक्तिनाथ बाबा को सत्संकल्पमा आयोजना हुँदै आएको रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्नेछ।
मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, पवित्र कालीगण्डकी र मुक्तिक्षेत्रको महिमा देशविदेशमा फैलाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थस्थलबीचको सम्बन्ध विस्तार र सनातन संस्कृतिको संरक्षणमा योगदान पुर्याउनेछ। यसले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार रथयात्रा प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। निर्धारित मार्गमा पर्ने धार्मिक स्थल तथा तीर्थधाममा रथयात्रा पुग्ने भएकाले स्थानीय श्रद्धालुलाई दर्शन, पूजाअर्चना र धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।
कार्यतालिकाअनुसार कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा जोमसोम, गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुग्नेछ। कात्तिक ९ गते बागलुङ, कुश्मा हुँदै पोखरा नगर परिक्रमा गरी रामघाटस्थित श्रीमुक्तिनाथ सनातन सेवाश्रममा विश्राम गर्नेछ।
कात्तिक १० र ११ गते पोखराबाट काठमाडौं पुगेर नगर परिक्रमा तथा विभिन्न धार्मिक स्थलको भ्रमण गरिनेछ। त्यसपछि भक्तपुर, बनेपा, धुलिखेल र सिन्धुली हुँदै कात्तिक १३ गते चतराधामस्थित श्रीमुक्तिनाथ मन्दिर पुग्ने कार्यक्रम छ।
कात्तिक १४ देखि १७ गतेसम्म रथयात्रा पूर्वी नेपालका विभिन्न स्थान हुँदै झापा, विराटनगर र जनकपुरधाम पुग्नेछ। यस क्रममा धरान, इटहरी, दमक, बिर्तामोड, भद्रपुर, काकडभिट्टा र विराटनगरलगायतका स्थान समेटिएका छन्।
कात्तिक १८ देखि २२ गतेसम्म जनकपुरधामबाट सिमरा, हेटौँडा, भरतपुर, नवलपुर र बर्दघाट हुँदै रुपन्देही पुग्ने कार्यतालिका छ। कात्तिक २३ गते चन्द्रौटा, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुग्ने रथयात्रा त्यसपछि सुदूरपश्चिमतर्फ अघि बढ्नेछ।
कात्तिक २४ गते टीकापुर हुँदै लम्कीचुहा र कात्तिक २५ गते पुनर्वास हुँदै महेन्द्रनगर पुग्ने कार्यक्रम छ। कात्तिक २६ गते महेन्द्रनगर, भलारी र अत्तरियाको मार्ग हुँदै रथयात्रा धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिर पुग्नेछ।
कात्तिक २७ गते धनगढीबाट हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुर पुग्ने र कात्तिक २८ गते सुर्खेत हुँदै तुलसीपुर जाने कार्यक्रम रहेको छ। कात्तिक २९ गते घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुग्नेछ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिने आयोजकले जनाएको छ।
रथयात्रा समापनपछि त्रिवेणीधाममा मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुनेछ।
मेचीदेखि महाकालीसम्मका धार्मिक स्थललाई एउटै यात्रामा जोड्ने यस अभियानले धार्मिक आस्था, सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने आयोजकको अपेक्षा छ।