आफन्तद्वारा भागरथीको शव बुझ्न अझै अस्वीकार
धनगढीः बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेपनि भागरथीको शव उठाउन भने परिवारले अस्वीकार गरेको छ।
भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक नगरेसम्म शव नउठाउने अडान लिएका मृतकको परिवारले प्रहरीले अभियुक्त सार्वजनिक गर्दा समेत शव नबुझेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले प्रक्रियामा रहेपनि अहिलेसम्म मृतकका आफन्तले शव नबुझेको बताए।
मृतकका काका नाता पर्ने शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि आफूहरु उनले दिएको भनिएको साबिती बयानमा विश्वस्त नरहेका कारण तत्काल शव नबुझिएको बताएका छन्।
‘प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति विश्वास गर्नुपर्ने विश्वसनीय प्रमाण प्रस्तुत नगरेकाले शव नबुझेका हौँ,’ दिनेशखबरसँग कुरा गर्दै भट्टले भने।
प्रहरीले बुधबार दिउँसो भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोगडाकेदार गाउँपालिकाकै प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो।