सुदूरपश्चिम प्रदेश फुटबल लिगको आज उद्घाटन
कञ्चनपुर : कैलाली-कञ्चनपुरमा प्रथम सुदूरपश्चिम लिग प्रतियोगिताको आज उद्घाटन हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम फुटबल लिग प्रतियोगिता हुने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यतालिका अनुरुप २०७६ सालका जिल्ला लिग च्याम्पियन दुवै जिल्लाका उत्कृष्ट टीमबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल महेन्द्रनगरको खुला मञ्च र समापन धनगढीमा हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव अमृत शाहले गतवर्षको लिग च्याम्पियन टीमबीच खेल हुने बताए । नेशनल लिगको तयारीका लागि टीम छनौट जस्तै खेल हुने बताउँदै महासचिव शाहले जिल्लाबाट विजेता टिमले ‘एन्फा प्रिन्सिडेन्ट कप’मा सहभागि हुन पाउनेछ ।
कञ्चनपुरबाट दिपज्योती युवा क्लब र कैलालीबाट निसर्ग स्टारसिटी युवा क्लबबीच ‘होम एण्ड अवेय’ प्रतियोगिता हुनेछ ।सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले एन्फामा आवद्ध भएका जिल्लाबाट मात्रै प्रतियोगिता गराएर टीम छनौट गरिने बताए ।
बुधबार एक कार्यक्रमकाबीच कञ्चनपुरको दीपज्योति युवा क्लबका तर्फबाट अध्यक्ष गणेश धानुक, टिम क्याप्टेन विकास सिंह महता कैलालीको निसर्ग स्टार सिटी युथ क्लबका तर्फबाट अध्यक्ष कुमार बहादुर शाही टीम क्याप्टेन कुँवेर सिंहले टिसर्ट प्रस्तुत गरेका थिए ।
दीपज्योती युवा क्लबका अध्यक्ष गणेश धानुकले प्रतियोगिताको पुरै तयारी पुरा भएको बताए । अध्यक्ष धानुकले भीमदत्त नगरपालिकाको ७ नम्बर वडा कार्यालय, भीमदत्त नगरपालिका र सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले सहयोग गरेको बताए । फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश चन्दले प्रतियोगिताका लागि एन्फाबाट तीन लाख सहयोग आउने बताए ।