सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलु खेतीमा रमाउँदै डडेल्धुराका प्रकाश सर

२०७७ माघ २८, ०४:२२ रासस

भूपेन्द्रसिंह विष्ट, डडेल्धुरा: अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुन।

उनले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो। उनी सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउछन्। उनी शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा ७ वर्ष करार र १५ वर्ष स्थायी छ।  

शिक्षक ऐरको दैनिकी फरक छ। उनी बिहान ६ देखि ९ बजे  र साँझ ५ देखि करीब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिन्छन्। उनी तीन महिना आलु खेतीसँग रमाउनुहुन्छ, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिन्छन्। उनी बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउछन्। 

२० वर्षदेखि आलु खेती 
प्रकाश सरले आलु खेती शुरु गरेको २० वर्ष भयो। तेह्र रोपनी जमीनमा उनले आलु खेती गरिरहनु भएको छ। विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको देखिन्छ। आलुको ‘सुपरजोन’ नै घोषणा भएको छ। यस क्षेत्रका अधिकांशका खेतबारी अहिले आलुको हरिया पातहरुले हरियालीपूर्ण छ। 

“यहाँ शुरुशुरुमा मकै मात्रै लगाउँथ्यौंँ। हामी मकैमा मात्रै सीमित थियाँैं”, उनले भने, “पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन्।”

धेरै स्थानमा सिँचाइको सुविधा नभएको जनाई धेरैले काम गर्ने छाडेका उदाहरण छन्। इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा सिँचाइको व्यवस्थापन गर्ने गरेका छन्। 

शुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उनले सुनाए। “मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु। शुरुमा गाईवस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो”, उनले भने, “अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरु पनि उपलब्ध भएको छ। त्यसले जोत्ने काममा सहजता ल्याएको छ।”

म्याडमको साथ 
उनको ६ जनाको परिवार छ। उनलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहेका छन। “तीन घण्टा बिहान र तीन घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौ”, उनले भने, “आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौंँ।” “बिहान बेलुका व्यायाम पनि हुन्छ। काम पनि हुन्छ। मलाई एकदमै रमाइलो लागेको छ”, उनले थपे।

एक याममा ६ लाख कमाइ
उनी अहिले एक याममा  सरदर १२ देखि १५ टन आलु उत्पादन गछन्। आलु राम्रो उत्पादन भएका समयमा एक याममा ६ लाख र कम उत्पादन भएका याममा  तीन लाख आम्दानी हुन्छ। 

बिक्रीवितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ। उत्पादित बीउ आलु भने उनी नजीकैको उग्रतारा शितभण्डारणगृहमा राख्छन्। आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र  कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र  डोटीका विभिन्न स्थानीय तहले सजिलै उनकै घरबाट बीउ आलु खरीद गरेर लैजान्छन्। 

प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहेको स्थानीयवासी बताउँछन्। उनको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ। 

सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए। अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ।  खायन आलुको मूल्य प्रतिकिलो २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो ७० देखि ८० हो।  “आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ। घरपरिवारका सदस्यले सघाउँछन्। काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छु”, उनले सुनाए।

विदेशिने युवालाई सुझाव
युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उनको सुझाव छ। देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उनले भने, “युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ। विदेश जानु हुँदैन। यहीँ लाखाैँ कमाउन सकिन्छ।” 

नेपालकै भूमिमा पसिना बगाउन उनले सुझाव दिए। ‘‘विदेशी भूमिमा घण्टौंँ पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’’, उनले भने। 

कमेन्ट लोड गर्नुस