सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गुड मर्निङ प्रदेश सरकार, बिहान भइसक्यो उठ !’

२०७७ माघ २८, ११:२८ खबर संवाददाता

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा निरन्तर प्रदर्शन भइरहेको छ। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको ७ दिन भइसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै बुधबार पनि विद्यार्थीहरु सडकमा निस्किएका छन्। 

त्रिनगर मावीको कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। 

प्रवेशद्वारमा ‘गुड मर्निङ प्रदेश सरकार बिहान भइसक्यो उठ, भागरथीलाई न्याय दे, हत्यारालाई कारवाही गर भन्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस