सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, जबरजस्ती जलाइयो शव

२०७७ माघ २६, ११:१९ खबर संवाददाता

काठमाडौं: भारतको बिहार राज्यमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ।

बिहारको चम्पारण जिल्लामा मजदूरीका लागि पुगेको नेपाली परिवारकी ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो।

घटना गत जनवरी २१ तारिखको हो। बर्दियाको बारबर्दिया नगरपालिका-३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको बिबिसी हिन्दीले जनाएकाे छ। 

२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए। साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे। उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे। बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे। काम छोडेर उनी तत्काल डेरामा आए । उनले छोरीको उपचारका लागि स्थानीय डाक्टर कहाँ पु¥याए तर, कसैपनि उपचार गर्न मानेनन्।

उनले १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ। उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो। मृत्युपछि गाउँका युवाहरू भेला भए।

पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाए। स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ।

शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए। राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो। अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो उनले निवेदनमा उल्लेख गरेका छन्।

प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको छ। पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले भाइरल अडियोबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरवाही र कर्तव्यहिनता स्पष्ट भएको बिबिसीलाई बताएका छन्।

भाइरल भएको एउटा अडियोमा ‘सञ्जीवकुमारले एक जना अभियुक्तलाई केटीको लासको व्यवस्था गरिदेउ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेउ’ भनिएको छ।

घटना भएको १२ दिनपछि परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये ५ जनालाई सामुहिक दुष्कर्म र हत्याको आरोप लगाइएको छ भने सात जनालाई प्रमाण नष्ट गरेको आरोप छ । प्रहरीले २ जनालाई पक्राउ गरिसकेको छ।

 

कमेन्ट लोड गर्नुस