सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मृत भेटिएकी किशोरी घटनाबारे निष्पक्ष छानबिन गर्न संयुक्त विद्यार्थी संगठनको माग

२०७७ माघ २३, १२:४४ खबर संवाददाता

धनगढीः बैतडीमा मृत भेटिएकी किशोरी घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई यथाशीघ्र कानुनी कारवाहीको दायरामा ल्याउन विद्यार्थी संगठनहरूले माग गरेका छन्।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) सेतिमहाकाली, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी यूनियन, प्रदेश अखिल (क्रान्तिकारी) र अखिल (छैठौँ) ले संयुक्त विज्ञप्ति जारी गर्दै बैतडीमा मृत भेटिएकी किशोरी भागरथी भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाबारे निष्पक्ष छानबिन गरि दोषिलाई हदैसम्मको कारवाही गर्नको माग गरेको हो।

'मृतक बहिनी भागरथी भट्टप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौँ। उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मूल्य मान्यतामाथि चुनौती खडा गर्ने यस्तो हिंसक र अपराधिक घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ। 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ स्थित सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्।

बुधबार घरबाट विद्यालय गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्दा बिहीबार उनको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो।

उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। यद्यपि प्रहरीले अनुसन्धान कार्य जारी रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस