सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्ट सडकमा उत्रिएपछि पूर्व सहयोद्धाको चुनौतीः राजीनामा दिएर सडकमा आउनुस्

२०७७ माघ २२, ०५:४४ लखन चौधरी

धनगढीः नेपाल बन्दकर्ताको रुपमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिचोटन भट्ट नै सडकमा उत्रेपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।

नेकपा प्रचण्ड–माधव समूहले विहिबार आह्वान गरेको नेपाल बन्दको क्रममा मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बजार बन्द गराउन निस्किएका थिए। बन्दलाई सफल बनाउन निस्केका मुख्यमन्त्रीको कदम विरुद्ध टिकाटिप्पणी भइरहेको हो।

मुख्यमन्त्रीका पूर्व सहयोद्धा एंव ओली समूहका नेता ओमबिक्रम भाटले आफ्नो फेसबुक वालमा टिप्पणी गर्दै लेखेका छन्, ‘त्रिलोचन जी मुख्यमन्त्रीबाट राजीनामा दिएर सडकमा आउनुस्। यो कस्तो नैतिकता हो ? आफैं प्रदेश सरकार प्रमुख हुने, आफै बन्द गर्ने ? दुःख लाग्यो। तपाईं चौकीदार भन्दामाथि कहिल्यै उठ्न सक्नुभएन...।’

ओली समूहका नेता तथा कार्यकर्ता मात्रै होइन आमसार्वसाधारण तथा वौद्धिक वर्गले पनि मुख्यमन्त्रीको कदमप्रति असन्तुष्टी पोखेका छन्। कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक प्रयागराज जोशीले ‘यहि देख्न बाँकी थियो’ भनेर टिप्पणी गरेका छन्।

त्यस्तै, कैलालीको फूलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यम पौडेलले ‘हे कलयुग’ भनेर असन्तुष्टि पोखेका छन्।

सरकार प्रमुख नै सडकमा उत्रिएपछि उनी विरुद्ध टिकाटिप्पणी भइरहेको हो।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस