दार्चुला प्रशासनले भन्यो– महाकाली नदी थुनिएको छैन
धनगढीः जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानी थुनिएको अवस्था नरहेको जनाएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय पक्षले तम्बाखुभिरस्थित सिमावर्ती क्षेत्रमा बाटो विस्तार गरिरहेकाले ढुङ्गा र माटो नदीमा खस्नेपनि पानी थुनिएको अवस्था भने नरहेको बताए।
उनले नदीमा अवरोध हुनसक्ने अवस्थालाई ख्याल गरेर भारतीय पक्षले नै बाटो विस्तारका क्रममा माथिबाट खसेको ढुङ्गा र माटोलाई पछ्याउने काम गरिरहेको जानकारी दिए।
भारतले यसअघि दशैँका बेला घाँटीबगर क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा पनि नदीमा ढुङ्गा, माटो खस्दा पानी थुनिने अवस्था आएको थियो।
मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै ब्यास गाउँपालिकाको माल्पा भन्ने स्थानमा पहिरोका कारण महाकाली नदी थुनिएकाले तटिय क्षेत्रका स्थानीयलाई सचेत रहन भनेको थियो।
तर दार्चुला प्रशासनले भने नयाँ पहिरो नगएको जनाएको छ।