कैलालीको पहलमानपुरमा अवरुद्ध राजमार्ग खुल्यो
धनगढीः पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा अवरुद्ध गरिएको राजमार्ग खुलेको छ।
गत शनिबार पहलमानपुर दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले क्षतिपुर्ति नपाएको भन्दै स्थानीयले मंगलबार दिउँसो ३ घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए।
बुधवार सम्बन्धित पक्षसँग छलफल गराइदिने आश्वासन पाएपछि मृतकका आफन्तहरूले अवरुद्ध सडक खुल्न दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गत शनिबार राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।
राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म१त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको ब९१प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो।
घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको दुर्घटनामा परी मृत्यु भएको थियो।