सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्पोर्टस् अवार्डः वर्ष खेलाडी महिला अवार्डलाई नोभा अस्पतालको साथ

२०७७ माघ १९, ०३:४५ खबर संवाददाता

धनगढी : धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको नोभा अस्पतालले साथ दिएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधामध्ये वर्ष खेलाडी महिला विधालाई नोभाले प्रायोजन गरेको हो । अब यो विधाको नाम नोभा अस्पताल वर्ष खेलाडी महिला अवार्ड रहने छ । यो विधाका विजेतालाई  नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नोभा अस्पतालकी प्रशासन अधिकृत सुमन भट्ट र अस्पतालका मेसु डाक्टर रामविहारी चौधरी तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य गगन अयडीले हस्ताक्षर गरे । नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ ।

चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईने खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य तथा खेलाडी छनोट समितिका सदस्य नवराज पनेरुले जानकारी दिए । 

अवार्ड अन्तर्गतको वर्ष खेलाडी पुरुषलाई नवजीवन अस्पताल, वर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स, लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथी अस्पताल र स्पेशल अवार्डलाई न्यु सिटी पोलिक्लिनिकले प्रायोजन गरेका छन् । 

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा धनगढी उप महानगरपालिका प्रबद्र्धकको रुपमा रहेको छ । ओम प्यालेस भेनु पार्टनरको रुपमा रहेको छ । अन्य प्रायोजकहरु र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ । 

कमेन्ट लोड गर्नुस