सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पूरा, सामाजिक उत्तरदायित्वको भूमिकालाई थप सशक्त बनाउन सुझाव

२०७७ माघ १८, १०:४२

सरेन जैरू, धनगढीः  व्यवसायीहरुको साँझा संस्था कैलाली उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पूरा भएको छ। दिवसका अवसरमा धनगढीमा स्वर्ण जयन्ती मनाएको छ। 

संघले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्वर्ण जयन्ती मनाएको हो। व्यवसायीको हकहितका लागि संघर्ष गर्दै आएको वाणिज्य संघले सामाजिक उत्तरदायित्वको भूमिकालाई थप सशक्त बनाउन सुझाव दिइएको छ।

देशकै सर्वोत्कृष्ट वाणिज्य संघको उपाधी समेत पाइसकेको कैलाली उद्योग वाणिज्य संघ वर्तमान समयमा सामाजिक उत्तरदायित्व बहन गर्नमा भने केही उदासिन देखिएको बताइएको छ। 

उद्योग वाणिज्य संघ कैलालीका पूर्वअध्यक्ष  रतन कठायतले उद्योग वाणिज्य संघ कैलाली  समाजको अभिन्न अङ्गसमेत भएकाले यसले समाजप्रतिको आफ्नो उत्तरदायित्व प्रभावकारी रूपमा बहन गर्नुपर्ने बताए। 

कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक डा।हेमराज पन्तले उद्योगी व्यवसायीहरूको हकहितको लागि आवाज उठाइरहने कैलाली उद्योग वाणिज्य संघले अन्य समाजिक संगठनहरू जस्तै यस क्षेत्रका सामाजिक कार्यमा पनि सघन रूपले निरन्तरता दिनुपर्ने सुझाव दिए। 
कैलाली उद्योग वाणिज्य संघ आफ्नो उद्देश्य प्राप्तीमा केही चुकेपनि सो उद्देश्य प्राप्तीको लागि आफुहरू लागि परेको उद्योग वाणिज्य संघ कैलालीका महासचिव ओम बिष्टको भनाई रहेको छ। 

उद्योग वाणिज्य संघ कैलालीले नेपाल उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य पनि हो। उद्योग वाणिज्य संघ कैलालीले गेटा विमान स्थल निर्माण, सुदूरपश्चिम प्रदेशको कृषि व्यापार र पर्यटनका सम्भावना उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। गन्तव्य सुदूरपश्चिम, सुन्दर सुदूरपश्चिम, सम्भावनाको सुदूरपश्चिम जस्ता मान्यतालाई राष्ट्रिय रूपमा उठान गर्न समेत भुमिका खेलेको छ।
 

कमेन्ट लोड गर्नुस