सुदूर नेपाललाई विश्वसँग जोड्दै

अाकाशको फल आँखा तरी मर– पश्चिम सेती

२०७५ भदौ २४, ०४:२५

बिस्तारै नवदुलहीको हिँडाइको चालझैँ  झुल्किएका थिए सुदूरपश्चिमेलीका आशाका किरणहरु पनि। जब गाँइगँुइ चल्न थालेको थियो पश्चिम सेतीको। कहिल्यै घामपानीझैं भयो माहोल। कहिल्यै बादलले छोप्यो। पानी परेपछिको आकाशझैं पटकपटक उमङ्ग नछरेको पनि हैन पश्चिम सेती जलविद्युत आयोजनाले। धेरैदिन टिक्न सकेन त्यो खुसी त्यो उमङ्ग । मात्र आकाशमा बिजुली चम्किएझैं भए ती पलहरु ।  
हिजो कतिपय वस्ती बगाएर जाने सेती, कैयौंका आँसु बटुलेर दौडिने सेती आज आफै रोइरहेझैं लाग्छ। वर्षौदेखि आफ्नैपनको घुम्टो आढेर यात्रारत सेतीको घुम्टो खोल्न कस्सियो राज्य । उसको अनुहारका तस्बिरहरु छरिए ठाउँठाउँमा । कल्पनाका गराहरु ठुल्ठुला बन्दै गए लाखौं पर्यटकलाई ती छाल देखाउन। देशविदेशसम्म चर्चा चल्यो सेतीको।  किनाराका मनहरुसँग खुसीको सीमा नै रहेन। तर हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भयो । 
चाहेनन् राज्य संचालकले सेतीका लहरहरुलाई आत्मसात गर्न। मात्र किनारासम्म पु¥याएका हुन् तिनले दृष्टि। बरम्बार पठाइरहे पानीको वेग छाम्न। मात्र जिस्क्याइरहे वर्षौसम्म।    २० ३९/ ०४० सालदेखि नै चर्चामा रहेको आयोजनाको ड्याम बन्ने भनिएको क्षेत्रको आसपासमा स्थानीयले ६ महिना वर्षदिनमा तयार हुने खालको खेती मात्र गरिरहे। परियोजना बन्ला भन्ने आशमा बसेका कतिले धर्तीबाट बिदा लिइसके। योजनाको सुरुवातीको चर्चा हुँदै जन्मेकाहरुको समेत आधी अमेर ढल्किसक्यो। आकाशको फल आँखा तरी मर भनेझैं भयो अन्तमा। 
लंकामा सुन छ कान मेरो बुच्चै भन्ने उखान सु.प.का हकमा शतप्रतिसत लागु हुन्छ। यहाँ हरेक चिजको सम्भावना छ। जलविधुत कृषि, पर्यटन, लगाएतका क्षेत्रमा थुप्रै सम्भावना बोकेको छ सुदूरपश्चिमले। हामीले पटकपटक सरकारलाई गाली गरिरह्यौ। सरकार चलाउने देशका अगुवाहरु कहिल्यैं कमिसनको चक्करमा घुमिरहे भने कतै सत्ता पक्ष र प्रतिपक्ष भएर पार्टीगत हिसावले मात्र हिँडिरहे। पश्चिम सेती जस्ता योजनालाई केटाकेटी जिस्क्याएजस्तो गरीरहे। चुनावको बेला नारा बनाए सेतीलाई। हरेकपटक आश्वासनको खेती गरिरहे। त्यही नारालाई मनन् गरेर प्रभावित क्षेत्रका जनताले बनाएनन् कुनै नयाँ संरचना। रोपेनन् कतै फूलको बोटसम्म। उनीहरुले बारम्बार भनिरहे कतिखेर यहाँ ड्याम तयार हुने हो र सारा जमिन तलाउ बन्ने हो। के गर्नु छ र बोटबिरुवा रोपेर। 
जिस्क्याउनसम्म जिस्क्याए सेतीलाई । संसारभरका नदीहरुकोझैं सेतीको पनि नियति नै हो आफ्नै गतिमा यात्रारत भैरहने । परापूर्वकालदेखि नै छल्किरहने छाल ३६ वषृदेखि छल्किदै आएका छन् नेताका भाषणमा, विदेशी कम्पनीका कागजमा, अनि नेपाल सरकारका योजना पत्रमा। वस्तवमा यसरी कुनै मान्छेलाई जिस्क्याइन्थ्यो भने उठ्थे होलान् मानव अधिकारका कुरा। चरित्रहत्याका कुरा। 
यहाँ  हुन थालेको काम बिगार्नेको कमी छैन। व्यक्तिगत स्वार्थमा कमिसनको खेती हुन थालेपछि चेतनाको धरातल सुक्ष्म हुँदै जान्छ र ओझेलमा पर्दै जान्छन् हाम्रा कैयौं योजनाहरु। ६सय८० मेगावाटको बेतन कर्णालीको अवधारणालाई नै अनुकरण गर्ने हो भने पनि बनाउन गाह्रो छैन पश्चिम सेती। वेतन कर्णलीमा त कर्मचारी संचय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारीले एक वर्षमा पाउने बोनस वापतको रकम मात्रै (४० प्रतिशत ) लगानीको रुपमा रहेको छ । लगानीको ग्यारेन्टी दिएर योजना अगाडि बढाउने हो भने सुदूरपश्चिमलाई जन्मक्षेत्र र कर्मक्षेत्र बनाउँदै आएका  सबै कर्मचारी एक महिनाको पुरै तलब लगानी गर्न तयार हुनेछन्।   
यहाँ जिल्लाका समाज छन्। नागरिक समाज छन्। जिल्लाजिल्लामा उद्योगवणिज्य संघ छन्।  बाह्य मुलुकमा सुदूरपश्चिमेली समाज छन्। उद्योगपति छन्, करोडौं अर्वौका ठेक्का लिइरहेका ठेकेदारहरु छन्। एउटा उपमहानगरपालिका छ ३३ वटा नगरपालिका छन् ५४ वटा गाउँपालिका छन्।  के ती सबै एक ठाउँमा जम्मा भएर हातेमालो गर्दै अघि बढ्दा बन्न सक्दैन पश्चिम सेती? यहाँ सोचको कमी छ। केवल नेतृत्व गर्ने मान्छेको कमि छ। 
राजा जयपृथ्वीबहादुर सिंह,दशरथ चन्द, भीमदत्त पन्त, डा. केआइसिंह, खडकबहादुर सिंह जस्ता अगुवा पुरुषको जन्मथलो हो यो। पछिल्लो समयमा यहाँ मात्र सोचको कमि छ। पश्चिम सेती मात्र बने पनि यहाँको बिकासमा कायापलट हुन्छ। यो वाक्य झुण्डिएकै छ अधिकांशको मुखमा। तर पनि बन्दैन पश्चिम सेती। नेताका भाषणले मात्र बन्ने भए त अहिलेसम्म के के न भैसक्थ्यो यहाँ । यहाँ इमान्दारीताको कमी छ। साझेदारीको कमि छ। पैसाको कमि छैन्। त्यसैले अब सोच्ने बेला भएको छ साझेदारीको मोडेलमा गएर पश्चिम सेती बनाउन आआफ्नो क्षेत्रबाट अग्रसरता लिने कि आकाशको फल ठानेर एवम् प्रकारले वर्ष बिताउने  ?  

कमेन्ट लोड गर्नुस