राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सेवा अब धनगढीबाटै, लागुऔषध परीक्षण सुरु
धनगढीः राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सुदूरपश्चिम प्रदेशसहित २ प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तगतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले प्रदेश नं. २ को बर्दिवासमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नो शाखा विस्तार सँगै काम सुरु गरेको हो।
प्रयोगशाला धनगढीका निमिक्त प्रमुख विरेन्द्र चौधरीले प्रयोगशालाबाट तत्काल लागु औषध सम्बन्धी नमूना परीक्षण सुरु गरिएको जानकारी दिए। निकट भविष्यमा क्रमिक रुपमा डीएनए र लिखत परीक्षण सम्बन्धी सेवा सुरु गरिने चौधरीले बताए। हाल लिखत परीक्षण सम्बन्धी सेवा वर्दिवासबाट प्रवाह भइरहेको उनको भनाइ छ।
धनगढीबाट प्रवाह हुने सेवाबारे जानकारी गराउँदै निमिक्त प्रमुख चौधरीले भने,‘यहाँबाट खासगरि नारकोटिक ड्रग अन्तरगत पर्ने लागुऔषधहरुको परीक्षण हुुन्छ।’
यसअघि लागुऔषध सम्बन्धी मुद्धामा नमूना परीक्षणको कार्य प्रयोगशालाको केन्द्रीय कार्यालयबाट हुँदै आएको थियो। जसले लागुऔषध सम्बन्धी मुद्धाको अनुसन्धानमा धेरे समय लाग्ने गरेको थियो। प्रयोगशाला स्थापनापछि प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई लागुऔषधको मुद्धा अनुसन्धानमा सहज हुने विश्वास व्यक्त गरिएको छ।
‘प्राप्त नमूना परीक्षणको लागि काठमाडौं पठाउँदा समय बढी लाग्थ्यो, तर अब समयको बचत संगै अपराध अनुसन्धानमा सजिलो हुन्छ। समग्रमा न्याय सम्पादनमा सघाउ पुग्नेछ।’्
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम समशेर जबराले धनगढीमै प्रयोगशाला स्थापना भएपछि आफुहरुलाई समय, आर्थिकलगायत व्यवस्थापिकीय दृष्टिकोणले निकै सजिलो हुने बताए। तर भर्खरै स्थापना भएकोले यसको सेवाको प्रभावकारिताबारे सेवा पाप्तिपछि मात्रै भन्न मिल्ने उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेशलाई नै लक्षित गरेर स्थापना गरिएको प्रयोगशालामार्फत सुदूरपश्चिमस्थित प्रहरीका अनुसन्धानलाई सघाउ पुग्ने बताइएको छ।
के–के परीक्षण हुन्छ ?
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार सरकारद्वारा प्रतिबन्धित औषधीहरुलाई नारकोटिक अर्थात लागुऔषधको रुपमा परिभाषित गरिएको छ। जसअन्तरगतका हिरोइन, कोकिन, अमफिटामाइन, मार्फिन, गाजा, चरेशलगायत लागुऔषध तथा यी लागुऔषधबाट बन्ने अन्य अवयवहरुको परीक्षण गरिने प्रयोगशाखा धनगढीका निमिक्त प्रमुख चौधरीले दिनेशखबरलाई जनाए। जसको लागि जीसीएमएस भन्ने उपकरण तयारी अवस्थामा रहेको बताइएको छ।