धनगढीको मुख्य सडक जीर्ण, दुर्घटना बढायो
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीको मुख्य सडकको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेर जीर्ण भएको छ।
चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक जीर्ण भएको हो। जसले आवागमनमा सास्ती सँगै दुर्घटनााको जोखिम बढाएको छ। तर मर्मत सम्भारमा भने सरोकारवाला निकायको ध्यान नदिएको पाइएको हो।
धनगढीका स्थानीय प्रदिप घिमिरेले धनगढीको मुख्य सडकमा भएको खाल्डाखुल्डीले दिनहुँ दुर्घटना हुने गरेको बताए।
‘दशै लगत्तै सडक निर्माण गर्ने बताएको धनगढी उपमहानगरपालिकाले अझै खाल्डाखुल्डी समेत पुर्न नसकेको कारण के होला? घिमिरेले प्रश्न गरे। मर्मत सम्भारमा धनगढी उपमहानगरपालिकाको ध्यान नपुगेको उनको भनाइ छ।
दैनिक यात्रु बोकेर जिविकोपार्जन गर्दै आएका विद्युतीय रिक्सा चालकहरुले समेत मुख्य सडकमा परेका खाल्डाखुल्डी हैरानी खेप्नुपरेको गुनासो गरेका छन्।
विद्युतीय रिक्सा चालक आयाराम चौधरीले खाल्डाखुल्डीको कारण सडकमा रिक्सा चलाउन निकै जोखिम रहेको बताए। उनले भने,‘तीव्र गतिले आउने अन्य सवारी साधन र खाल्डाखुल्डीले आफ्नो सवारी पल्टिन्छ कि भन्ने चिल्ताले सताउँछ।’
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले छिट्टै सो सडक खण्ड मर्मत गरिने बताए।
‘मेन रोडमा खाल्डाखुल्डी परेका छन तर सो सडकको टेण्डर भइसकेकोले चाँडै काम थालिने भएको छ। अहिलेसम्म खाल्डाखुल्डी नदीजन्य पदार्थको ठेक्का हुन नसक्दा पुर्न नसकिएको हो। अहिले टेण्डर भइसकेकाले छिट्टै उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्छ।’
क्षेत्रीय सहरी विकास आयोजनाले आफ्नो कार्यक्षेत्र रहेको कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको साँघुरो सडकसहित नगरका अन्य सडक खण्डको पहिलेको ३० मिटर चौडाइको स्टिमेट घटाएर २४ मिटर कायम गरेको छ। चौडाइ घटाउने निर्णयकर्ताले धनगढीको भावी माग र बढ्दो जनघनत्वको चापलाई नजरअन्दाज गरेको नगरवासीको भनाइ छ।