कैलालीको मोहन्याल गाउँपालिकाले आफ्नै वडाहरुलाई बजेट अख्तियारी दिन आनाकानी, योजनाहरू अलपत्र
सरेन जैरू, धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिना बित्दा समेत बजेट अख्तियारी नदिँदा वार्षिक स्वीकृत योजनाहरू अलपत्र परेका छन्।
गाउँ सभाबाट पास भइसकेका योजनाहरू कार्यान्वयनका लागि अख्तियारी दिन पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको आरोप जनप्रतिधिहरूले लगाएका छन्। योजना कार्यान्वयनमा कर्मचारीहरू नै बाधक बनेको आरोप उनीहरूको छ।
चालु आर्थिक वर्षको ६ महिनासम्म पनि अख्तियारी प्राप्त नभएपछि अन्तिम अवस्थामा बजेट फ्रिज हुने सम्भावना पनि बढेको छ।
मोहन्याल गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष खरप्रसाद अधिकारीले गाउँ सभाबाट पास भइसकेका योजनाहरूलाई अख्तियारी दिन पटक–पटक गाउँपालिकाको कार्यालयलाई आग्रह गर्दा कार्यपालिकाको निर्णय चाहिने भन्दै प्रशासकीय अधिकृतले आनाकानी गरिरहेको बताए।
हामिले गाउँ सभाबाट पास भइसकेका योजनाहरूलाई अख्तियारीनामा दिन गाउँपालिकालाई पटक–पटक आग्रह गरेका हौँ, उनले भने, "प्रमुख प्रशासकीय अधिकृतले आफ्नो मनोमानी ढङ्गले योजनाहरूलाई अख्तियारी दिन आनाकानी गरिरहनु भएको छ, फलस्वरूप योजना कार्यान्वयनमा ढिलाइ भइरहेको छ।"
मोहन्याल गाउँपालिका वडा नम्बर ६ का स्थानीय केशवबहादुर साउँदले अन्य स्थानीय तहमा योजना कार्यान्वयनको चरणमा गएर झण्डै ५० प्रतिशत कार्यप्रगति भइसकेको अवस्थामा मोहन्यालमा भने गाउँपालिका कार्यालयलले अख्तियारी दिनमा समेत आलटाल गरिरहेको बताए।
मोहन्याल गाउँपालिका अन्य गाउँपालिकाभन्दा विभिन्न दृष्टिकोण पछाडि परेको गाउँपालिका हो, उनले भने, "यहाँका योजनाहरूले अख्तियारी नपाएर कार्यान्वयनमा जान नसक्दा विकास निर्माणका योजनाको काम समेत प्रभावित भएको छ।"
मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले गाउँ सभाबाट पास भइसकेका योजनाहरूको अख्तियारीका लागि गाउँपालिकाका सबै वडाहरूले प्रमुख प्रशासकीय अधिकृतलाई पठाए पनि किन ढिलाई भयो भन्ने प्रश्नमा अनविज्ञता प्रकट गरे।
उनले प्रमुख प्रशासकीय अधिकृतसँग यस बारेमा बुझ्न भनेपनि अहिलेसम्म योजनाको अख्तियारी नदिएको विषयमा प्रतिक्रिया माग्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रशाद शर्मा भने सम्पर्कमै आउनु भएन।
मोहन्याल गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा कुल ४७ करोड ५३ लाख ७४ हजार बजेट पाएको थियो। पुँजीगततर्फ १९ करोड ११ लाख ९१ हजार विनियोजन भएकोमा गाउँपालिकाले आर्थिक वर्षको ६ महिना सकिँदा २ करोड ६६ लाख २८ हजार मात्र अर्थात् १३ दशमलव ९३ प्रतिशत मात्र खर्च गरेको छ।
पुँजीगत खर्च न्यून मात्रामा खर्च हुँदा विकास निर्माणका योजनाहरूको कार्यान्वयनमा ढिलासुस्ती भएको देखिन्छ भने, चालु आर्थिक वर्षको ६ महिना बित्सासमेत योजनाले अख्तियारी पाउन नसक्दा योजनाहरू अलपत्र परेका छन्।