सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा युवक हत्याको विरोधमा धनगढीमा प्रदर्शन, हत्यारालाई कारवाही गर्न माग

२०७७ माघ १४, ०१:५३ खबर संवाददाता

धनगढी: मंगलबार बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। 

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्।

अमृत सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।  पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी रहेको बझाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए। 

उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको खड्काले बताए। सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्। 

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको प्रहरीको भनाई छ। 

उनको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए। 

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले दिनेशखबरलाई बताए।

उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्।

यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।  
 

कमेन्ट लोड गर्नुस