धनगढी–दिपायल द्रुतमार्ग कालोपत्रेका लागि १० दिनभित्रै टेन्डर आह्वान हुने दावी
धनगढी: धनगढी-दिपायल द्रुतमार्ग कालोपत्रेका लागि १० दिनभित्रै टेन्डर आह्वान हुने दावी गरिएको छ। वर्षौंदेखि अलपत्र परेको द्रुतमार्ग अन्तरगतको २४ किलोमिटर सडक कालोपत्रे गर्न १० दिनभित्रै टेन्डर आह्वान हुने धनगढी–दिपायल द्रुतमार्ग योजनाले दावी गरेको हो।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को सामुदायिक प्रहरी सेवा केन्द्रदेखि १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि श्रोत स्वीकृती प्राप्त भएको आयोजना कार्यालयका प्रमुख इन्जिनियर खगेन्द्र शाहीले बताए।
‘डोटीमा १० किलोमिटरसहित कैलालीमा धनगढी–स्याउले सडकखण्ड कालोपत्रेका लागि श्रोत स्वीकृती प्राप्त भएको छ’ उनले दिनेखबरसँग भने, ‘७० करोडभित्र रहेर काम गर्ने अनुमती प्राप्त भएसँगै अबको १० दिनभित्र टेन्डर आह्वानका लागि सूचना सार्वजनिक हुन्छ।’
उक्त सडक कालोपत्रेका लागि त्यहाँका स्थानीयले विभिन्न दवाव दिँदै आएका छन्। सोही क्षेत्रका स्थानीय तथा पत्रकार सञ्जय पन्तले सडक कालोपत्रे गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत अभियान नै थालेका थिए।
सडक कालोपत्रेका लागि टेन्डर आह्वान हुने भएपछि आफ्नो अभियानले सार्थकता पाएको उनले सुनाए। ‘मैले विगत डेढ महिनादेखि सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै सरोकारवालालाई दवाव दिनका लागि दैनिकजसो फेसबुकमा लेख्ने गरेको थिए,’ उनले भने, ‘अब सडक कालोपत्रेका लागि टेन्डर आह्वान हुने भएपछि यस क्षेत्रका स्थानीय पनि हर्षित भएका छन्।’
धनगढी दिपायल द्रुतमार्ग अन्तरगतको धनगढी–स्याउले सडक खण्ड कालोपत्रे भएपछि उक्त क्षेत्रका स्थानीयले सडककै कारण भोग्दै आएको सास्ती काम हुने विश्वास लिइएको छ।