कैलालीको वसन्ता वन क्षेत्रमा डिभिजन वनको डोजर, आक्रोशित स्थानीयद्वारा कैलारी गाउँपालिकामा तालाबन्दीको प्रयास
धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नं. ७ स्थित वसन्ता वन क्षेत्र अतिक्रमण गरेर बनाइएको भौतिक संरचना हटाउन थालिएकाे छ। डिभिजन वन कार्यालय कैलालीले आइतबार वसन्ता क्षेत्रस्थित अतिक्रमण गरि बनाइएको केही संरचनामाथि डोजर समेत चलाएको छ।
तर स्थानीयले अवरोध गरेपछि हाल तनाव उत्पन्न भएको हो। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना बनाएका स्थानीय ३ जनाको संरचना हटाएको बताए। तर असहयोग भएपछि काम रोकिएको प्रमुख कँडेलले दिनेशखबरलाई बताए।
तर अब बल प्रयोग गरेर भएपनि संरचना हटाउने उनको भनाइ छ। डिभिजन वनले अतिक्रमित क्षेत्र खाली गराउन लागेपछि अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेका स्थानीयहरु सोमबार ७ नं. वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
वडा कार्यालयमा तालाबन्दीपछि करिब ३ सय बढीको संख्यामा रहेका स्थानीयहरु कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा समेत तालाबन्दीको प्रयास गरेका थिए। तर स्थानीय प्रशासनले तालाबन्दी गर्नबाट रोकेाे छ। छटकपुर वसन्ताका भलमन्सा रामदिन चौधरीले आफुुहरु बाढी पीडित रहेको बताउँदै बसैकै स्थानमा बसोबास गर्नपाउँनुपर्ने माग गरे।
विगतका दिनमा त्यहाँबाट निर्वाचित जनप्रतिनिधिले बसेकै स्थानमा जग्गा प्राप्ति हुने आश्वासन दिदै आएकाे उनीहरुको भनाइ छ। तर वन कार्यालयले भने वन क्षेत्र खाली गराएरै छोड्ने बताएको छ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सो क्षेत्रमा त्यहाँको बाढी प्रभावितहरु बस्दैआएको बताए। तर वन क्षेत्र भएकोले निकासको लागि सबैपक्ष सँग समन्वयको पहल थालेको बताए। स्थानीय तहका जनप्रतिनि, डिभिजन वन, जिल्ला प्रशासन कार्यालय र बाढी प्रभावित भनिएका स्थानीयबीच छलफल भइरहेकाे बताइएकाे छ।