सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाखौं खर्चिएर धनगढी उपमहानगरपालिकामा जडित सडक बत्ती महिना नपुग्दै बिग्रियो

२०७७ माघ १०, ११:११ विन्दु चन्द

धनगढीः कैलालीको धनगढीमा उपमहानगरपालिका क्षेत्रमा लाखौँ रकम खर्चेर जडान गरिएका सडक बत्तीहरु महिना दिन नपुग्दै बिग्रिएका छन्। तर मर्मत सम्भारमा पनि कुुनै पनि निकायको ध्यान नपुगेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का शान्ति टोल, शिवपुरी टोल, न्यू रोड टोललगायतका १० टोलमा दशैं तिहारका बेला जडान गरिएका सडक बत्ती एक महिना नबित्दै बिग्रिएका हो। हालसम्म मर्मत सम्भार नहुँदा रातिको समयमा आवतजावत गर्नेलाई समस्या भएको शिवपुरी धाम शन्ति टोलकी स्थानीय शान्ति चौधरी बताउँछिन्। उनले भित्रि सडकमा खाल्डा खुल्डी हुँदा राति अन्ध्यारो दुर्घटनाको जोखिम हुने गरेको जनाइन्।

वडा नम्बर ४ को कार्यालय रहेकै क्षेत्रमा जडान गरिएका सडक बत्ती पनि बिग्रिएका छन्। केही स्थानमा स्विच चोरिँदा बलेको बत्ती रातदिन बलेको समेत पाइएको छ। जसले करेन्ट लाग्ने जोखिम पनि उत्तिकै रहेको वडा नम्बर ४ कै स्थानीय सेतु ठकुल्लाले बताइन्। उनले बलेको बत्ती बन्द नहुँदा र कुनै ठाउँमा स्विच नहुँदा करेन्ट लाग्ने गरेको बताइन्।

पटक–पटक मर्मत सम्भारका लागि आग्रह गर्दा समेत वेवास्था गरिएको न्यु रोड टोलका स्थाीनय दिपकराज भट्ट बताउँछन्। 

सडक बत्ती जडान गर्दा वडा कार्यालयले ३ लाख खर्च गरेको छ। सो वडाभित्रका १० टोलका ५ सय २४ पोलमा दशैँतिहारको समयमा बत्ती जडान गरिएको थियो। एउटा पोलमा १०० रुपैयाँका दरले सडक बत्ती जडान गर्दै जडान कार्यमा मात्र ५० हजार बढी खर्च गरिएको वडा नम्बर ४ का वडाध्यक्ष दिपक कुमार थापाले बताए। तर बाँकी सामगी्रको हिसाबकिताब भने हेर्न बाँकी रहेको उनको भनाइ छ।

वडा अध्यक्ष थापाले ३०/३५ स्थानमा जडान गरिएको बत्ती बिग्रिएको गुनासो आएको बताउँदै नगरपालिका कार्यालयमार्फत चाँडै मर्मत गरिने बताए।

तर धनगढी उपमहानगरपालिकाले भने मर्मत सम्भार गर्ने जिम्मा पनि वडाकै भएको बताउने गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले मर्मतको दायित्व वडा कार्यालयकै रहेको बताए।
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस