सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा ‘स्वर्गवाटिका’ निर्माण

२०७७ माघ ८, ०६:०८ रासस

झिमरुक : प्युठान जिल्लाको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत बगैँचा निर्माण गरिएको हो । 

इन्द्रध्वज गण खलङ्गा ब्यारेक र डिभिजन वन कार्यालय प्युठानको सहकार्यमा निर्मित वाटिकाको श्री नं १९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मदनकुमार केसीले बुधबार उद्घाटन र स्वर्गद्वारी आश्रमलाई हस्तान्तरण गर्दै बाहिनीपति नागरिक– सैनिक सम्बन्धलाई थप प्रभावकारी बनाउन निर्मित वाटिका निर्माणले मन्दिर परिसरको गरिमा बढाउन थप टेवा पुर्‍याउने बताए । 

इन्द्रध्वज गण प्युठानको अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को नेपाली सेना सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत विनियोजित २५ लाखमा सामग्री खरीद र सेनामार्फत संरचना निर्माण गरिएको हो । म्युजिकल वाटर फाउण्टेन, पैदल मार्ग, मूलद्वार, तारजाली, रेलिङलगायत संरचना  निर्माण गरिएको इन्द्रध्वज गण खलङ्गा ब्यारेक प्युठानका गणपति प्रमुख सेनानी अर्जुनविक्रम थापाले बताए । 

गत साल मङ्सिर २० गते निर्माण सुरु भएको वाटिकाको निर्माण सम्पन्न केही समय पहिले भएपनि कोरोनाका कारण केही ढिला आश्रमलाई हस्तान्तरण गरिएको हो । सोही ठाउँमा डिभिजन वन कार्यालयले आव २०७६/०७७ मा ३५ लाख लगानीमा उद्यान, वाटर फाउण्टेन निर्माण, टहरा, ढोका र वाटिका निर्माणका लागि सहयोग गरेकोे रेञ्जर हरि पौडेलले बताए । 

नवनिर्मित वाटिका ग्रहण गर्दै आश्रमका डा रुद्रानन्द ब्रह्माचारीले सो संरचनाले भक्तजनलाई शान्त र आनन्दको अनुभूति लिन सक्ने वातावरण सिर्जना गरेको बताए ।

कमेन्ट लोड गर्नुस