सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्रका हजारौं फौजीलाई ‘कमाण्ड’ गरेका पूर्व डीएसपी सन्तराम अब थारु गाउँको कमाण्डर ‘बरघर’

२०७७ माघ ६, ०१:५३ लखन चौधरी

धनगढीः सशस्त्र प्रहरीको कडा अनुशासनकाबीच आफ्नो सेवा अवधिमा हजारौं प्रहरीको नेतृत्व गरेका एक पूर्व प्रहरी अधिकारीले अब गाउँ बनाउने कमाण्डर अर्थात बरघर बनेका छन्।

कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ उत्तर भर्रीका गाउँ समाजले सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तराम चौधरी (५२)लाई गाउँको नेतृत्व गर्न बरघर (भलमन्सा)को जिम्मेवारी दिएको हो। 

सो थारु गाउँ समाजको माघ ४ गते सम्पन्न खोज्नीबोज्नी तथा माघी डेवानी (भुरा खेल) कार्यक्रममार्फत उनलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको गाउँका पूर्व भलमन्सा छोटेलाल चौधरीले जानकारी दिए। अब उनले एक वर्षसम्म २३७ घरधुरी तथा १ हजार बढी जनसंंख्या भएको सो गाउँ समाजको नेतृत्व गर्न पाउँने भएका छन्। 

२०७५ असोज १ गते सेवाबाट अवकाश पाएका चौधरीले आफुले गाउँको नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

आफ्नो जीवनकालको ३० वर्ष सशस्त्र प्रहरीमा कार्यरत रहेको बताउँने उनले लामो समयसम्म विभिन्न जिल्लाको नेतृत्व लिए भने लामो समयसम्म प्रहरीको प्रशिक्षक भई काम गरेको अनुभव सुनाउँछन्।

उनका अनुसार सशस्त्र प्रहरी जवानदेखि सेवा गरेका उनी ११ वर्षसम्म्म सशस्त्र प्रहरी निरीक्षक र ३ महिना सशस्त्र प्रहरी नायव उपरीक्षकको जिम्मेवारी निर्वाह गरे। यसैबीच मुस्तांङ जिल्लामा जिल्लास्तरको सशस्त्र प्रहरी बेस क्याम्पसको नेतृत्व गरेका थिए। भने, सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा १२ वर्षसम्म प्रशिक्षकको रुपमा कार्यरत थिए। 

उनी अगाडि थप्छन्,‘फौजी र बरघरको कार्यक्षेत्र फरक भएपनि फौजी पनि समाजकै अंग हो। एउटा कमाण्डरको परम जिम्मेवारी फौजलाई होस या समाजलाई सबल बनाउनु हो। सुरक्षा गर्नु हो।’

यतिमात्रै होइन, सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङमा २ वर्ष, सशस्त्र प्रहरी तालिम केन्द्र बाँकेमा पनि प्रशिक्षक तथा केन्द्रको सुवेदार मेजर भएर काम गरेका छन्।

उनले कैलाली जिल्लास्थित प्रहरीको विभिन्न इकाइमा एन्टी एम्बुस तथा बम डिस्पोजल सम्बन्धी तालिमका प्रशिक्षक समेत रहेको कार्य अनुभव सुनाउँछन्।

फौजीको पूर्व कमाण्डर अब गाउँ बनाउने नेतृत्व कसरी अगाडि बढाउँछ ? भन्ने जिज्ञासामा हाँस्दै बरघर चौधरी भन्छन्–‘हेर्नुस् फौजको नेतृत्व गर्नु र गाउँको नेतृत्व गर्नु फरक कुरा हो । फौजभित्रको अनुशासन र बरघरको कार्य क्षेत्रभित्रको अनुशासन फरक–फरक किसिमको छ। बरघर प्रणाली थारु जातिको एकदमै लोकतान्त्रिक पद्धति हो। प्रथाजन्य कानुन नै हो। अग्रजहरुको रायका साथ गाउँको विकास र शान्तिको लागि योजनावद्ध रुपमा काम गर्ने सोच बनाएको छु।’

बरघरभित्र केही कानुनी जटिलता र केही खराब पनि पक्ष रहेको औल्याउँदै उनले गाउँ समाजलाई देवानी र फौजदारी कानुनबारे पनि क्रमिक रुपमा सिकाउँदै जाने बताउँछन्। 

उनी अगाडि थप्छन्,‘फौजी र बरघरको कार्यक्षेत्र फरक भएपनि फौजी पनि समाजकै अंग हो। एउटा कमाण्डरको परम जिम्मेवारी फौजलाई होस या समाजलाई सबल बनाउनु हो। सुरक्षा गर्नु हो।’

थारु समुदायमा बरघरले गाउँघरमा हुने विकास निर्माणको कार्यमा सहजीकरण तथा समाजका सदस्यलाई परिचालन गर्ने भूमिका रहन्छ। भने समाजमा हुने स–साना झै–झगडा तथा वादविवाद मिलाउने तथा सहजीकरण गर्ने प्रचलन रहिआएको छ।

माघलाई नयाँ वर्ष तथा आर्थिक वर्षको रुपमा मनाइने प्रचलन रहिआएको थारु समुदायमा विगतको समीक्षा र आउँदो वर्षको लागि योजना बनाउने गरिन्छ। यसैबीच गाउँको नयाँ नेतृत्व चयन तथा अनुमोदनको कार्य पनि हुन्छ। 
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस