सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सहकारीकी अध्यक्षको ठगी धन्दा, शेयर सदस्य तथा सर्वसाधारणको ८० लाख बढी रकम लिएर फरार

२०७७ माघ ६, ०९:२० लखन चौधरी

धनगढीः कञ्चनपुर जिल्लास्थित एक सहकारी संस्थाका अध्यक्षले शेयर सदस्य तथा सर्वसाधारणको लाखौं रकम लिएर फरार भएकी छिन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडी शाखाकी सञ्चालक समिति अध्यक्ष कलावती नेपालीले रकम लिएर फरार भएकी हुन्।

उनले आफै सञ्चालक समिति अध्यक्ष रहेको साना किसान कृषि सहकारी संस्थाका साथै नेपाल ग्रामीण विकास लघुवित्त संस्था लिमिटेड, उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको झलारी शाखालगायतका विभिन्न संस्थाबाट विभिन्न व्यक्तिको नाममा करिव ८० लाख रुपैयाँ भन्दा वढी रकम निकालेर केही महिनादेखि फरार भएकी हुन्।

सो १ नम्बर वडास्थित बनशाह घर भएकी नेपालीको ठगी धन्दा मौलाएपछि सोही गाउँपालिकाको वडा नं– १ बस्ने उत्तरा विष्टसहित २७ जना पीडित महिलाहरुले सहकारीकी अध्यक्ष नेपालीे विरुद्ध तथा खोजीकार्य र असुलउप्पर गराइ पाउँ भनेर वडा कार्यालयमा उजुरी दिएका छन्।

पीडित महिलाहरुको उजुरीपछि शुक्लाफाँटा नगरपालिकाको १ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी पोष्टको कार्यालय बन्शाहलाई खोज तलास तथा असुल गराइ दिने भन्दै पत्रचार गरेको छ।

वडा अध्यक्ष हरिश बिष्टले सो सहकारीकी अध्यक्ष नेपालीले स्थानीय व्यक्ति र सहकारीका शेयर सदस्यहरुका नामवाट ऋण रकम लिएर फरार भएको बताएका छन्। गाउँका वृद्धवृद्धाबाट समेत रकम लिएर अध्यक्ष नेपाली एकाएक सम्पर्कविहीनपछि उनको खोजीकार्य थालिएको वडा अध्यक्ष बिष्टले दिनेशखबरलाई जानकारी दिए।

उनले गाउँघरका सोझा महिलाहरुलाई विभिन्न बहानामा विश्वास दिएर उनीहरुको नाममा ऋण निकालेको बताइएको हो।

उनको ठगी कार्यमा उनी सञ्चालक समिति अध्यक्ष रहेको सहकारीका कर्मचारीहरुको समेत मिलेमतो रहेको आशंका गरिएको छ। स्थानीय दुर्गा भट्टले कार्यरत कर्मचारीले अध्यक्ष नेपालीको आग्रहमा विभिन्न शेयर सदस्यको नाममा निकालेको ऋण रकम सम्बन्धित शेयर सदस्यलाई नदिइ नेपालीलाई दिएको समेत दाबी गरिन्।

अध्यक्ष नेपालीले ठगी गरेर भारत गएको आशंका गरिएको छ।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस