H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १६, आइतवार ०६:०९
Feb 28 2021, Sunday
06:09:10 PM

पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न पदयात्रा

रासस
२०७७ माघ ०६:५९
अ+

दमौली : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा सम्पन्न गरेको हो ।

भीमाद–६ स्थित भीमाद बजारबाट सुरु पदयात्रा पाथर्दीमा पुगेर टुङ्गिएको थियो । पदयात्राको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले पर्यटनबाटै समृद्धि सम्भव रहेकाले प्रदेश सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम बनाएको बताए ।

कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनःसञ्चालन गर्न पदयात्राको आयोजना गरिएको घरवास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए । पदयात्रामा १५० भन्दा बढीको सहभागिता रहेको थियो । “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौँ”, उनले भने ।

पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ लाख उपलब्ध गराएको थियो । 

पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा वास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad