गौराको भेट र दुनिया देखाउने अङ्गालो
गौरा पर्व राजधानीमा रहेका प्रदेश नम्वर ७ का वासीन्दाले टुँडिखेलमा जम्मा भई डेउडा खेलेर मनाउँदा सधै राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुको जम्काभेट हुन्छ । प्रशंसा संरक्षण समूहले हरेक बर्ष गौरा पर्वको बेला यो अवसर जुराउने गरेको छ । पुर्व प्रधानमन्त्री तथा काग्रेस सभापति शेर वहादुर देउवा, पुर्व प्रधानमन्त्री लोकेन्द्र वहादुर चन्द, पुर्व उप–प्रधानमन्त्री तथा नेकपाका नेता भिम रावल, पुर्व मन्त्री तथा नेकपाकै नेता लेखराज भट्ट, पुर्व मन्त्रीहरु रमेश लेखक, एनपी साउद, दिलेन्द्र प्रशाद वडु लगायतका नेताहरु एकअर्काको हात समातेर डेउडा खेलमा रमाउन पनि पछि पर्दैनन् ।
यसपालिको कार्यक्रममा माथि उल्लेखीत नेताहरुंगै सांसदद्वय दामोदर भण्डारी र कमला ओली, समूहका अध्यक्ष अम्बादत्त भट्ट, महासचिव हरिप्रसाद अवस्थी, कार्यक्रम संयोजक हरिमोहन भण्डारी, संस्कृतिविद् यज्ञराज उपाध्याय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ प्रशिक्षक रामसिंह ऐरलगायतले सुदूरपश्चिमको मौलिक पर्व गौराको प्रभाव देशभर बढ्दै गएको बताए ।
नेताहरुले सुदूरपश्चिम संस्कृतिमा धनी रहेको भन्दै एक अर्काको पाखुरो समातेर डेउडा खेले । डेउडा खेल्दा धेरैलाई लाग्दो होला, प्रदेश नम्वर ७ का नेताहरु एकजुट छन भनेर । तर बर्षभरी पानी बाराबारको स्थीतीमा रहने ती नेताहरु गौरामा मात्रै दुनिया देखाउन एक आपसमा अङ्गालो कस्ने, प्रेमी प्रेमीकाले झै पैतली मिलाउने गरेका छन् ।
तर गौरा पर्वमा एकजुट हुने नेताहरु दोश्रो दिनदेखि नै आ–आफ्नो बाटोमा लाग्ने गरेका छन् । गौरा पर्व मनाउँदा र डेउडा खेल्दा देखिएको एकता यस क्षेत्रको विकास, समृद्धीमा पनि देखिए अहिले प्रदेश नम्वर सात ४६ प्रतिशत गरिविमा पिल्सिने थियो ? ६० प्रतिशत ग्रामीण क्षेत्रहरु सडक सन्जालको पहुँच बाहिर हुने थिए ? भारतमा निम्न स्तरको मजदुरीका लागि जानुपर्ने थियो ? उपचार नपाएर अकालमै ज्यान गुमाउन पर्ने थियो ? पढ्न नपाएर बाहिरिन पर्ने थियो ? पश्चिम सेती, द्रुत मार्ग, पञ्चेश्वर, महाकाली करिडोर, सेती लोकमार्ग लगायतका कयौँ आयोजनाहरु यसै गरि तुहिने थिए ? प्रदेशवासीको मनमा यि र यस्ता धेरै प्रश्न उब्जिएका छन् ।
सामाजिक सद्धभाव कायम राख्न र आपसी भाईचारा, मेलमिलापको वातावरण श्रृजना गर्छन हाम्रा गौरा लगायत विभिन्न चाडपर्वहरुले । यी चाडपर्वहरुमा नेताहरुको कस्सीएको आत्मीयता जुन देखा पर्दछ, त्यो भ्रम फैलाउनका लागि मात्रै नभएर यथार्तमा विकास निर्माण र अन्य कार्यको लागि पनि भईदिएको भए आज सुदूरपश्चिम वासीहरुले निराशाको विउ छर्नुपर्दैनथ्यो । हाम्रा सास्कृती र पर्यटकीय स्थलहरुले विगतमा झैँ आकास तिर फर्केर टोलाउन पर्दैनथ्यो ।
अहिले पश्चिम सेती जलविद्युत आयोजना अन्योलमा परेको विषय राष्ट्रिय स्तरमा नै चर्चामा छ । तर पश्चिम सेतीको निर्माण बारे यस क्षेत्रका एक जना नेताहरुको पनि अभिव्यक्ति बाहिर आउन सकेको छैन् । के गौरा पर्वमा देखिएको एकता प्रदेशको समृद्धीसंग जोडिएको पश्चिम सेतीको निर्माणमा देखिन सकिदैन् ।
दशकौँदेखि निर्माण थालिएका अन्य आयोजनाहरुको निर्माण कछुवा गतिमा अगाडी बढिरहेको छ तर गौरा पर्वमा अङ्गालो हाल्ने नेताहरु त्यस्ता आयोजनाको बारेमा छलफल गर्न पनि किन डराउछन् । अहिले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय पनि चर्चामा छ । यो विषले प्रदेशवासी विभाजित भईरहेका बेला ती नेताहरुमा पनि एकता देखिएको छ ।
नेताहरु एक भएर, प्रदेशवासीलाई पनि सम्झाउन पर्ने बेलामा नेताहरुमै देखिएको फरक मतले प्रदेशवासीलाई विभाजीत हुन बाध्य तुल्याएको छ । गौरा पर्वमा देखिएको एकताको हामीले विरोध गरेका होईनौ केवल त्यो एकता प्रदेशका अन्य विषयमा पनि चाहिएको छ मात्रै भन्न खोजेका हौँ ।
गौरा पर्वमा मात्रै देखिएको एकताले धेरैको मनमा एउटा प्रश्न उब्जिएको छ । के प्रदेश नम्वर ७ बाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरु सुदूरपश्चिमलाई गौरा र चुनावको बेला मात्रै सम्झिन्छन ? यदि होईन भने गौरामा देखिएको एकता बर्षभरीनै रहिरहोस ।