जब दुख्छ जिन्दगी घाउ बनेर
परदेशीले बाटो नाप्यो छाप छोडेर पाउको
कोइ छौ कि औषधी गर्ने जिन्दगीका घाउको
सुदूरपश्चिममा युगौंदेखि सुनिँदै आएका कतिपय डेउडा गीतहरु टिपेर स्वरबद्ध पारेका छन पछिल्लोपटक कैयौं गायक गायीकाहरुले । तुलनात्मक रुपमा पुरुष स्वरभन्दा निकै नै कम सुनिन्छन् नारी स्वरहरु । तिनै नारी स्वर मध्यको उत्कृष्ट स्वर हो डीक्रादेवीको । सामान्य परिवारमा जन्मेकी एक असाक्षर महिला जसको स्वरले जोकोहीलाई पनि मन्त्रमुग्ध तुल्याउँछ । सानैमा माइतिघरमा सार¨ीको धुनसँग परिचित थिइन् उनी । त्यसैले होला उनमा गीतसंगीतको मोह जागेको ।
उनको स्वरमा कुनै प्रकारको बनावटीपन भेटिँदैन । उनी हृदयपूर्वक गीत गाउछिन् र सम्राइ लगाउँछिन उनै डाँडाकाँडा र पहाडी जिन्दगीको । मध्य तथा सुदूरपश्चिममा ठाडीभाका गाउने गायिकाहरुको उनीसँग तुलना नै हुँदैन । उनी निकै माथिल्लोस्तरकी गायिका हुन । तर निकै कम चर्चामा आएकी गायिका । मध्य तथा सुदूरपश्चिममा गाइने ठाडीभाकाले विरह, बेदना, बिछोड अनि जिन्दगीका अन्तर कुन्तरका गुनासाहरु समेटिएका शब्दहरु बोकेको हुन्छ । ती शब्दहरु जब सजिन्छन् डीक्रादेवी जस्ता गायिकाका स्वरमा तब अश्रुपूर्ण हुन्छन् कैयांै मनहरु । टोलाएमान हुन्छन् पाखापखेरु र लताहरु । तिनै ठाडीभाकाहरुमा बिशुद्ध ढंगले उनिएको हुन्छ हृदयको भाव, मुटुको धड्कन अनि जिन्दगीका पत्रहरु ।
डीक्रादेवी गाइरहन्छिन् निष्ठापूर्वक र मलम लगाउन खोज्छिन् जिन्दगीको घाउमा । गीत गाउँदा पारिश्रमिकता पाइन्छ कि पाइदैन भन्ने कुराको चिन्ता छैन उनलाई । कसैले दिए लिन्छिन् नदिँदा कुनै गुनासो गर्दिनन् । पश्चिम महिला जागरण समाजको आयोजनामा चार वर्ष अघि काठमाडौंमा सम्पन्न भएको मध्य तथा सुदूरपश्चिम महोत्सवमा उनको आवाज सुनेर भक्कानिएका थिए कैयाै मनहरु । राष्ट्रले त कहाँ चिन्थ्यो र सुदूरपश्चिमले पनि चिन्न नसकेकी गायिका हुन डीक्रा देबी । जो गुनगुनाउँछिन् मानवीय संवेदनाका स्वरहरु । मूल्य र मान्यताका ध्वनीहरु । र बोक्छिन् जिन्दगीका असंख्य घाउहरु ।
आज सम्झिरहेछु सोचिरहेछु अनि निकै नै मनन् गरिरहेछु । यसरी मनन् गर्न बाध्य तुल्याएको छ सिरानीका तिनै पंक्तीले । भेटाउँदिन कुनै एउटा मात्र परिभाषा जिन्दगीको । जुन गणितको सुत्र जस्तो होस् । गायत्री मन्त्र जस्तो होस् । प्रपञ्चकारी जिन्दगीका रुप नै अनेक भैदिन्छन् त परिभाषा कहाँ एउटा मात्रै हुन्थ्यो । त्यसैले त कैयौं विद्वान् दार्शनिकहरुले आफ्नो मत जाहेर गरे–जिन्दगी अपरिभाषित छ भनेर । आज डीक्रादेबीले गाएको गीत सुन्दै छु एकान्तमा । सम्झिँदैछु विगतका पथहरु । केलाउँदै छु सपनाको बिस्कुन अनि अवलोकन गर्दैछु यो जगतका मठाधिशहरुको व्यवहार । जिन्दगीको मोडमा आइलागेका झमेलाहरु । यो जिन्दगीको बिस्तार । राज्य ब्यवस्थाको प्रहसन ।
देशविदेशमा रहेका नेपालीहरुले गौरा पर्व मनाइरहेका छन् । हरेक वर्ष गौरा पर्वमा टँुडिखेलमा सुदूरपश्चिमबाशीहरुको जमघट हुन्छ । गौरा पर्वको रौनक छाउछ राजधानीमा पनि । तर त्यहाँ वर्षेनी देखिन्छन् दरिद्रताका घाउहरु । नेताको हात समाएर डेउडा खेल्न लछार पछार गर्दै गरेका केही मान्छेहरु । टेलिभिजनको पर्दामा देखिने लालचा बोकेकाहरुको कसरत एकातिर हुन्छ भने । त्यो दौडमा सफल हुन नसकेकाहरुको मनको दुखाइ अर्कोतिर । पछाडी अरुको खोइरो खनेर अगाडि चाकडी गर्नेको लर्को पनि ठूलै देख्छु अचेल । तर देखिन्न घाउबिहीन जिन्दगी कतै । दरिद्र मानसिकता बोक्ने स्वनामधन्य, द्रव्य पिपासु र आत्मश्लाघी मनहरुका जिन्दगीमा पनि बनेका हुन्छन् घाउहरु । तर डीक्रादेवी, तिलक सिं पेला, अन्तराम बिष्ट, हरिना साउँद,भुवन दाहाल जस्ता केही औंलामा गनिने निर्दोष, इमान्दार र सरलचित्त भएका गायक गायिकाहरु छन् जो चाकडी चाप्लुसी जान्दैनन् । सधै प्रयासरत देखिन्छन् जिन्दगी र जगतका पाटालाई स्वर र शब्दमा उतार्न । जसका जिन्दगीका घाउ छुट्टै प्रकृति र आयामका हुन । ती घाउहरु सिर्जनाका हुन । समाज र राष्ट्रप्रतिको उत्तरदायित्वका हुन । जीवन र जगतको घुम्तीमा एदाकदा ठोक्किदाका हुन । घरपरिवारप्रतिको जिम्मेवारिको भारी बोक्दै हाम्रा गीत संगीत कला, साहित्य संस्कृति इतिहास आदिका पाटाहरुलाई लगनको कलशझै स्वरमा सजाउन खोज्दा उत्पन्न हुने संवेदना र भावनाका हुन ।
जिन्दगीको मोडैपिच्छे ठाउँ बनाएको छ मध्य तथा सुदूरको लोकसाहित्य र संस्कृतिले । हाम्रो आफ्नो भौगोलिक धरातल भन्नु नै त्यही लोकसाहित्य र संस्कृति हो । जहाँ हरेक स्थानमा उपस्थिति जनाएको छ जिन्दगीले । संस्कृति भनेकै जीवन र कला दुबै हो । हामी जति हाम्रो कला र संस्कृतिको व्यवास्था गर्छौ त्यति नै मात्रामा बोकिरहन्छ जिन्दगीले घाउ । दुखिरहन्छ जिन्दगी नजानिँदो पाराले । तर त्यो दुखाईको आनन्द छुट्टै हुन्छ जसको अनुभूति सुनाएर गए चल्लेसाइ, ठगी महरा,लङ्गरी खड्का, मानवल बिष्ट, डमरी, भागा, झीरु, हस्वाँ कानो, गंगाराम बलायर, देउराम बलायर लगाएत कैयौ ड्यौडीयाहरुले । डेउडा मध्य तथा सुदूरपश्चिमको लोकसाहित्यको दरिलो हाँगो हो । जहाँ मुटुको गहिराइ छ । समाजको चित्रण छ । अस्तित्वको कलेवर छ । समय र परिस्थितिका किरण छर्छन गिता¨ेहरु । क्षणभरको लागि मात्र भए पनि सेकिन्छन् त्यसैभित्र लाखौ मनहरु । जिन्दगीको गोरेटोमा परेली पुछ्दै गर्दा पनि केही हलुकाे हुन्छ मन जब सुनिन्छन् हृदय पगाल्ने लयसँगैका गहकिला शब्दहरु, गुइला भाकाहरु ।
डीक्रादेवीका गीतले औंल्याउन खोजेको घाउ सजिलै देखिने कुनै सपाट घाउ हैन । त्यस्तो चरम निराशाको घाउ पनि हैन । त्यो त्यही संघर्षको घाउ हो । समस्या समाधानको खोजिमा जादै गर्दा देखिएको घाउ हो । छाउपडी गोठले बोकेको घाउ हो । देउकीको छातीले बोकेको घाउ हो । कहिल्यै निको नहुने देशी रोगले बनाएको घाउ हो । मातृत्वका छालहरुले बनाएको घाउ हो । परदेशीका सुस्केराले बनाएको घाउ हो । छोडी जानेको यादले बनाएको घाउ हो । अनाथको हेराइ र हलीको सुस्केरा बोकिरहेको घाउ हो । अनि गरिबको आँगनले बोकेको घाउ हो । अभावका धर्साहरुले निम्त्याएको घाउ हो । सबैभन्दा बढी त इमान्दारी र स्वाभिमानी जिन्दगी बाँच्न गाह्रो हुँदा बनेको घाउ हो ।
हिजै मात्र कुनै मित्रले जागिर सरुवा गराउन सम्राटहरुका दैलामा निकै नै धाएको कुरा सुनाएका थिए । “महिनैपिच्छे काठमाडौं पुग्नु पर्छ उपचारका लागि । यतै सरुवा गराउन सके पक्कै पनि केही राहत मिल्थ्यो । आखिर धाउनु मात्रै पनि त काम बन्नु रहेनछ”–उनले कथाको साराशं बताए । राम्ररी बुझे कुराकानी र निस्कर्ष निकालें – आखिर भीक माग्नलाई पनि पहिले पैसा नै खर्च गर्नु पर्दो रहेछ यो सहरमा । गरिवको कुनै अर्थ छैन कि भनेझैं आभाष हुन्छ सहरमा । इमान्दारिता र स्वाभिमान त फुटपाथको घुम्ती पसलझै निरिह देखिन्छ अचेल । त्यसैले आज खुब गुनगुनाउन मन लागेको छ सिरानीका पक्तिहरु । हरेकलाई चाहिएको छ । हरेकले कुनै न कुनै ढंगले सोधिरहेकै छन्, खोजिरहेकै छन् त्यही घाउरुपी जिन्दगीको ओखती । जिन्दगीको घाउको औषधी गर्ने कोही छैन जगतमा । यदि छ भने उही परमात्मा छ । तर डीक्रादेवी लगाएत हामी जस्ता सामान्य मानिसका लागि परमात्मा सामु पुग्न कहाँ सजिलो हुनु । जब जिन्दगी घाउ बनेर दुख्यो तब औषधी खोज्न हिँडे सिद्धार्थ गौतम । मध्यरातमा दुई वर्षे पुत्र राहुल र यशोधरालाई छोडेर । आफ्नो घाउरुपी जिन्दगीको उपचारमा हिँडेका सिद्धार्थ गौतमको यात्राले यशोधरा र राहुलको जिन्दगीमा अर्कै घाउ बनाइ दियो । जुन केवल बिछोडको घाउ थियो । त्यही कुरा मनन् गरेर लेखे भारतका राष्ट्रकबि मैथलीशरण गुप्ताले यशोधरा शीर्षकको कबिता । ‘सखी † वह कुछ कहकर तो जाते †’ । यो पंक्तिमा यशोधराको जिन्दगीको घाउ देखाउन खोजे कबि गुप्ताले । यशोधराको जिन्दगीमा बनेको घाउ स्रष्टाहरुको सिर्जनाको स्रोत बन्यो । अरुलेझैं उनले पनि बोकिरहिन् जिन्दगीभरी त्यो घाउ ।
हिजोआज एकातिर यहाँ मान्छे सहरमुखी बन्दै गयो । जे गरेर भए पनि धन सम्पत्ति जोड्नुपर्छ, चिल्ला गाडी चढ्नुपर्छ, ठूलाठूला महल बनाई सहरको रमझममा जिन्दगी सजाउनुपर्छ भन्ने सोचले ग्रसित भैरह्यो । बारम्बार घुम्तीमा लडिरह्यो । यो मानवरूपी निरीह र दुःखी प्राणीले घूसको खेती गरिरह्यो, दम्भको बीउ छरिरह्यो, चाटुकारिताको मन्त्र रटिरह्यो, ढोङ्गी बन्यो, बेइमान बन्यो, शोषक बन्यो, जीवनका घुम्तीभित्र यस्तै रयाडहरू छोडिरह्यो । र दुखिरह्यो बारम्बार । अर्कातिर घरपरिवार चलाउन गाह्रो हुँदा लाहुरतिर छिर्न थाल्यो मान्छे र दुखिरह्यो यादै यादका घाउहरु टल्काएर
लाहुरे जिन्दगी र त्यो जिन्दगीको घाउका बारे निकै मार्मिक शब्दहरु रचिएकाछन् सुदूरपश्चिममा । हिजोका दिनमा अधिकांश लोग्नेमान्छेहरु कोही बिबाह गरेको हप्तादिन नपुग्दै पुगिसक्थे भारतका बिभिन्न सहरमा चौकिदारी गर्न । कोही बालबच्चा बुढा आमाबुवा र श्रीमति छोडेर विवशताको यात्रामा निस्कन्थे त्यही चौकीदारी गर्न । आज केही अरव कतार साउदी दुबइतिरको यात्रा गर्दैछन् । साहुको ऋणले बनेको घाउ एकातिर हुन्छ । बिछोडको घाउ अर्कोतिर । कही कतै ठुलो डिब्बामा प्याक भएर स्वदेश फर्किने दुर्भाग्य निम्तियो भने कति ठुलो घाउ बन्ला परिवारका लागि जिन्दगी । त्यस्तै कुरालाई मनन गरेर रचेका होलान् कसैले यी पक्तिहरु ः
अग्लो डाँडो भत्किदेओस् मेरो साइ देखियोस्
कोख बसी दिन बिताउनु कर्ममा लेखियोस्
यो गीतले भनेजस्तो पुगिहाल्दा पनि देखिन्छ तत्काल अर्को घाउ । सिर्जना गरिदिन्छ जिन्दगीले अर्कै अभावको । समयले छोडेर गएका घाउहरु एकातिर छन् । बिभाजनको रेखामा टल्किएका घाउहरु अर्कोतिर छन् । ठग लुटेरा र घुस्याहाले बनाइ दिएका घाउहरुले दुखाएकै छ आज पनि उस्तै प्रकारले । सत्तामा पुगेकाहरुले निमुखा र गरिबलाई न्याय दिन नसक्दा, बिकास निर्माणका कार्यहरु बर्षौसम्म थलापरिरहँदा देखा परिरहेका छन् मान्छेमा निराशाका घाउहरु । ३६ वर्षसम्म मात्र चर्चामा सिमित पश्चिम सेतीको दुखाई अनि पश्चिम सेती जलविद्युत बन्ला भनी कुर्दाकुर्दै डाँडामाथिको घाम बनिसकेकाहरुले बोकेको घाउ उस्तैछ ।
यहाँ मान्छे मात्रै कहाँ हो र यो सानो भूखण्ड पनि बोकिरहेछ कैयौं घाउहरु । मान्छे युगौंदेखि खोजिरहेछ जिन्दगीका घाउको औषधी । तर एउटा घाउ निको नहँुदै वा पुरिन नपाउँदै देखा परिहाल्छ अर्को घाउ । मान्छे अरु प्राणीभन्दा निकै नै जटिल छ । कुटिलताले परिपूर्ण छ । अनि बेरिएको छ रहस्यका पानाहरुले । जिन्दगीरुपी घाउ बोकेर खुब भौतारिन्छ मान्छे । तर पनि होस कहिल्यै आउँदैन । सधैंजसो दुःखमै लपेटिन्छ । पीडाकै भेलमा बगिरहेको हुन्छ । काडाँमाथि टेकिरहेको हुन्छ तर सपना फुल कै देख्छ । त्यो फुल कहिल्यै भेटिँदैन । भेटिन्छ सधै जसो उही काँडा जसले कोतर्छ जिन्दगी र बनाइरहन्छ घाउ ।
अरुकै चिजबिज राम्रो देख्ने, सधै अरुको इष्र्या र डाह मात्र गरिरहने मान्छेले एक्काइसौ सताब्दीसम्म आइपुग्दा हरेक क्षेत्रमा निकै नै प्रगति गरिसक्यो । धेरै कुरा पत्ता लगायो । धेरै चिज कमायो । कैयौं रोग पत्ता लगायो । ती रोगका औषधी पत्ता लगायो तर सकेन जिन्दगीका घाउको औषधी पत्ता लगाउन । विज्ञानले आफ्नो चमत्कारी देखाइरहेको, डरत्रास फैलाइरहेको यो दुनियाँमा मान्छेको जिन्दगी सधैँभरि दुखिरहेछ । गल्ली–गल्लीमा मरिरहेछ । ठूलाठूला महलहरूमा मरिरहेछ । त्यही उपचारबिहीन जिन्दगीका बारे लेखे फिराक गोरखपुरीले ।
“मौतका भी इलाज हो शायद
जिन्दगीका कोइ इलाज नही”
फिराक गोरखपुरी जन्मिनु भन्दा अघि नै सुनिन्थे डीक्रादेबीले गाएका जस्ता गीतहरु मध्य तथा सुदूर पश्चिममा । मृत्यु बोकेर हिँड्छ जिन्दगी । प्रेम बोकेर हिँड्छ जिन्दगी । अभाव बोकेर हिँड्छ जिन्दगी । मातृत्वको भारी बोकेर हिँड्छ जिन्दगी । परदेशीका यादहरु बोकेर हिडँ्छ जिन्दगी । के बोक्दैन र जिन्दगीले । जब तिनै स्वस्फुर्त ढंगले निर्दोषतामा बनेका घाउहरु बोकेर हिँड्छ जिन्दगी तब सल्बलाउँछन् सिर्जनाका केस्राहरु । तिनै घाउहरु बन्न थाल्छन् सिर्जनाका मुहान । तिनै घाउले सिकाउँछन सिर्जनात्मक जिन्दगी जीउन पनि । अरु कैयौ स्रष्टाहरुझैं जिन्दगीका तमाम घाउहरु बोकेर यात्रारत छन् डीक्रादेबीहरु पनि ।