सुदूर नेपाललाई विश्वसँग जोड्दै

एआईमा खर्च बढेसँगै ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा

२०८३ वैशाख ११, १०:३७ खबर संवाददाता

वासिङ्टन डीसीः सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ।

कम्पनीले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै १० प्रतिशत कटौती गरिने उल्लेख गरिएको छ। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा खर्च तीव्र रूपमा बढाउँदै गर्दा कम्पनीले यो घोषणा गरेको हो। मेमोअनुसार, कम्पनीले हजारौँ रिक्त पदहरू पनि अब नभरिने जनाएको छ। यस निर्णयको मुख्य कारण एआई परियोजनामा बढ्दो लगानी हो । स्रोतका अनुसार, मेटाले यस वर्ष एआईमा करिब १३५ अर्ब डलर खर्च गर्ने तयारी गरेको छ, जुन अघिल्ला तीन वर्षको कुल खर्च बराबर हो।

कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसअघि नै एआईका कारण काम गर्ने तरिकामा ठुलो परिवर्तन आउने संकेत दिएका थिए। उनले एआई उपकरण प्रयोग गर्ने कर्मचारीहरू धेरै उत्पादक भएको र पहिले ठुलो टोलीले गर्ने काम अब एक व्यक्तिले नै गर्न सक्ने बताएका थिए। “मलाई लाग्छ २०२६ एआईले हाम्रो काम गर्ने तरिकालाई नाटकीय रूपमा परिवर्तन गर्ने वर्ष हुनेछ,” उनले भनेका थिए।

मेटाले सन २०२२ यता पटक–पटक कर्मचारी कटौती गर्दै आएको छ। यस वर्ष मात्र कम्पनीले दुई चरणमा करिब २ हजार कर्मचारी हटाइसकेको छ। अब हुने कटौती भने २०२३ पछिकै सबैभन्दा ठुलो हुनेछ। हालका महिनाहरूमा कम्पनीले एआई मोडेल र उपकरण विकासमा विशेष ध्यान केन्द्रित गरेको छ। यसै सन्दर्भमा कम्पनीले कर्मचारीहरूको कम्प्युटर प्रयोगसम्बन्धी गतिविधि ट्र्याक गरेर एआई सुधार गर्न प्रयोग गर्ने योजना पनि अघि सारेको छ, जसलाई केही कर्मचारीहरूले विवादास्पद बताएका छन्। 

कमेन्ट लोड गर्नुस