वाजपेयीलाई संझदै गर्दा
भूमिका
१६ अगस्त , २०१८ का दिन वावु कृष्ण विहारी वाजपेयी र आमा कृष्णाको कृपाबाट सन् १९२४ मा आँखा खोलेका भारतीय भूतपूर्व पुर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी यस धर्तीबाट विदा भए । कविताप्रति पनि झुकाव रहेका वाजपेयीले आफ्नो विद्याथीकालदेखि नै कुशल वक्ताको रूपमा ख्याती कमाईसकेका थिए जुन उनको जीवनपर्यन्त कायम रह्यो । उनको प्रतिभाबाट प्रभावित भएका नेहरूले भनेका थिए, वाजपेयीको मुखमा सरस्वतीको वास छ । छानी छानी उत्कृष्ट शव्द चयन गर्दै विशिष्ट वाक्य संयोजन गर्न सक्ने उनको खुवि थियो ।
राष्ट्रिय स्वयंसेवक दलसँग जोडिएर आफ्नो राजनीतिक यात्रा सुरू गरेका वाजपेयी भारतीय जनसंघको संस्थापक र पछि सन् १९६८ देखि सन् १९७३ सम्म त्यसको अध्यक्ष पनि बने र सन् १९५७ मा सोही संघको उम्मेदवारको रूपमा बलरामपुरबाट लोकसभा सदस्यमा चुनिन सफल रहे । इन्दिरा गान्धीको दललाई निर्वाचनमा पराजित गर्दै सत्तारोहरण गर्न सफल भएको जनता पार्टीको शासन कालमा मोरारजी देसाईको प्रधानमन्त्रीत्वमा गठित मन्त्रीमन्डलमा उनले सन् १९७७ देखि सन् १९७९ सम्म परराष्ट्र मन्त्रीको कार्यभार सम्हाले ।
उनकै सकृयतामा सन् १९८० मा भारतीय जनता पार्टीको गठन भयो र सोही बर्षको ६ अप्रिलमा उनले त्यसको अध्यक्षको कार्यभार सम्हाले । सन् १९९६ मा १३ दिनको अल्प अवधिका लागि प्रधानमन्त्री हुन पुगेका वाजपेयी पुनः सन् १९९८ मा समेत सोही गौरवशाली इतिहास दोहर्याउन सफल भए तर दोस्रो पटक पनि उनी १३ महिनासम्म मात्र प्रधानमन्त्री बने । सन् १९९९ मा फेरि तेस्रो पटक प्रधानमन्त्री बने । यस पटक भने उनको शासन अवधि ४।५ बर्षसम्म रह्यो । वाजपेयीको प्रधानमन्त्रित्वकालमा धेरै आर्थिक र राजनीतिक घटना परिघटनाहरू घट्न पुगे।
वाजपेयी , निजीकरण र वैदेशिक लगानी
आफु सत्तामा आईसकेपछि वाजपेयीले पि। भि। नरसिंह रावको प्रधानमन्त्रित्वकालदेखि भारतले अख्तियार गर्दै आईराखेको आर्थिक उदारीकरणको नीतिलाई तीव्रता दिए , त्यसैले उनलाई आर्थिक सुधारको दोस्रो पिढीका पिता पनि भन्ने गरिन्छ । यस कदमको क्रममा उनले मुलुकमा निजीकरणलाई वढावा दिए ।
विभिन्न सरकारी उद्यमहरू पुँजिपतिहरूलाई बिक्रि गर्ने काम उनको पालामा भयो । युनि लिभरलाई मोडर्न फुड इन्डस्ट्री , अनिल अग्रवालको स्टेरलाईट कम्पनीलाई भारत आलुमुनीयम कम्पनी लिमिटेड र हिन्दूस्तान जिंक कम्पनी आईटि फर्म सिएमसी फर्म र विदेश संचार निगम टाटालाई ,इन्धनको थोक विक्रेता आईबिपि ईण्डियन आयल करपोरेसनलाई र ईण्डियन पेट्रो केमिकल्स रिलायन्स ईन्डस्ट्रिज लिमिटेडलाई विक्रि गर्ने काम उनको पालामा भयो । त्यस बाहेक धेरै होटेलहरू पनि त्यसै समयमा नै निजी क्षेत्रलाई बिक्रि गरिए । तर यस निजीकरणको अभियान उनका लागि सजिलो थिएन । यस क्रममा उनले विरोधको सामना गर्नु परेको थियो । भारत आलुमुनियम कम्पनी लिमिटेडको मामला भारतको सर्वोच्च अदालतसम्म पुग्यो । तेल प्रसोधक हिन्दुस्तान पेट्रोलियम करपोरेसनलाई आफ्नै सहर्मीहरूका विरोधका कारणले गर्दा उनी निजीकरणमा लैजान असफल रहे ।
यस बाहेक भारतको विदेशी लगानीमा समेत उनको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । रूसको सखालिन ( १ तेल र ग्यास भन्डारमा १ दसमलब ७ अर्व डलर बराबरको लगानी ,सुडानको तेल भन्डारमा ७२० मिलीयन डलर बराबरको लगानीलाई समेत महत्वपूर्ण मान्नु पर्दछ । ईथानोल उत्पादनमा पनि उनको रूचि रहेको थियो । आज विश्वका २० वटाभन्दा बढी मुलुकहरूमा भारतको लगानी रहेको छ । त्यसै गरेर उनीलाई भारतमा आधुनिक टेलिकमका पिताका रूपमा पनि मान्ने गरिन्छ । टेलिकमको आधुनिकिकरणको सम्बन्धमा उनको भूमिका रहेको कुरा सम्झन लायक छ ।
विदेशसँगको सम्बन्ध सुधार्ने प्रयाश
क० अमेरिकासँग आर्थिक सम्बन्धको सुदृढिकरण
यिनकै शासनकालमा सन् २००० मा भारतमा अमेरिकाका राष्ट्रपति वील क्लिन्टनको भ्रमण भएको थियो । त्यो अमेरिकाले भारतलाई आर्थिक महत्व दिन सुरू गरेको संकेत थियो । सन् १९९८ मा भारतद्वारा गरिएको परमाणु परीक्षणप्रतिको आपत्तिमा अमेरिकाले केही हदसम्म नरमपना ल्याएपछि अमेरिका र भारतको सम्बन्धमा उल्लेखनीय सुधार आएको हो । भारतको विशाल जनसंख्याका कारणले गर्दा अमेरिकाको नजरमा भारत व्यापार गर्नका लागि ठिक ठाउँ थियो भने भारतमा विकसित भईराखेको सूचना प्रविधि उद्योगका लागि अमेरिका जत्तिको सुदृढ वजार अरू कुनै पनि हुन नसक्ने परिस्थितिमा त्यस मुलुकसँग आर्थिक सम्बन्ध कसिलो बनाउँदै लैजानु नै भारतको पक्षमा रहेको कुरा वाजपेयीलाई राम्रोसँग थाह थियो ।
हुन पनि वाजेयीको समयमा सूचना प्रविधि उद्योग तीव्र गतिले विकसित भईराखेको अवस्था थियो । भारतको सिलिकन भ्यालीको रूपमा बेंग्लौरले ख्याती प्राप्त गरिराखेको थियो र कसै कसैको भनाई अनुसार त्यहाँ अमेरिकाको सिलिकन भ्यालीकोभन्दा ज्यादा संख्यामा सूचना प्रविधि ईन्जिनीयरहरू त्यो समयमा काम गर्ने गर्दथे । भारतमा आफ्ना मुलुकका सूचना प्रविधिका उद्योग स्थान्तण हुँदै गएको अवस्थालाई त्यति वेलादेखि नै अमेरिकी नेताहरुले चिन्ताको विषय मान्ने गरेका थिए ।
ख० चीनसँगको आर्थिक तथा राजनीतिक सम्बन्धलाई थप सुदृढिकरणको प्रयाश
सन् १९६२ मा भएको चीनसँग भएको युद्धमा हार नबिर्से पनि र समय समयमा यिनीहरूका बीचमा विषम परिस्थितिको सृजना हुन खोजे पनि यिनीहरूको आर्थिक सम्बन्ध आजको दिनमा सुदृढ हँुदै गईरहेको छ र यससम्बन्धमा वाजपेयीले आफ्नो कालमा खेलेको भूमिकालाई बिर्सनु हुँदैन । सन् २००२ भन्दा एक दशक अघि ति दुई मुलुकको व्यापार शून्यजस्तै हुने गरेकोमा उनकै पालामा त्यो उक्त बर्षमा ५ अर्व हुन पुग्यो र अहिले १०० अर्वको हाराहारीमा छ । हाल दुबै मुलुकहरूको एक अर्कामा लगानी छ र जस्तोसुकै परिस्थिति आईलागे पनि तिनीहरूको बीचमा लडाईं हुने सम्भावना प्रायः न्यून नै छ । सन् २००३ मा चीनको सप्ताहव्यापी भ्रमण गरेका भारतीय प्रधानमन्त्रिले सूचना प्रविधीको चीनको संघाईमा भारतको सफ्टवेयर उद्योग र चीनको हार्डवेयर उद्योग एक आपसमा मिलेर जानु पर्ने विचार प्रकट गरे जुन व्यावहारिकतामा आधारित थियो ।
यसै भ्रमणमा नै चीनले सिक्किममाथि भारतको अधिकार र भारतले तिब्बतमाथिको चीनको अधिकारलाई मान्यता दिने कुरा समेत तय भएको थियो । भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको दुई वर्षपछि चीनियाँ प्रधानमन्त्री वेन जियावाओ भारतमा आएका थिए ।
ग० पाकिस्तानसँग सम्बन्ध सुधारको प्रयाश
स्वतन्त्रता प्राप्तिसँगै दुस्मन बनेका भारत र पाकिस्तानले अनेकौं युद्ध लडिसकेका छन् । वाजपेयीले पाकिस्तानसँगको वैमनष्यतालाई कम गर्ने उद्येश्यले बसबाट पाकिस्तान जाने मनसुवा कसे ।वाजपेयी सीमा पार गर्ने वित्तिकै नवाव सरीफले उनको स्वागत गरे दुवै जना हेलिकप्टरबाट लाहौर पुगे । वाजपेयीको मुसलमान अतिवादीहरूले गर्न सक्ने विरोधका कारणले उनलाई वायुयानबाट लाहौर लगिएको थियो । अनुमान मुताविक नै उनको पाकिस्तानमा केही त्यस्ता तत्वहरूले ु वाजपेयी पाकिस्तानबाट फर्क ु भन्ने प्ले कार्ड देखाएर विरोध गरे । जे होस् उनको पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रयास आफैमा प्रसंशनीय थियो , यद्यपि त्यसले सार्थकता पाउन सकेन र हालका बर्षहरूमा उनकै दलका नरेन्द्र मोदी प्रदानमन्त्री बनेको अवस्थामा त्यो संबन्ध अझै बिग्रन पुगेको छ ।
घ० नेपालमाथि वाजपेयीको दृष्टिकोण
आफु प्रधानमन्त्री भईसकेपछि नेपालको भ्रमण नगरे पनि त्यस अघि जनता पार्टीका तर्फबाट सन् १९७७ मा विदेशमन्त्रीमा नियुक्त भएकै वर्ष जुलाई १४ देखि जुलाई १६ सम्म वाजपेयीले नेपालको भ्रमण गरेका थिए । त्यति बेला नेपालसँग सुमधुर संबन्ध देखाउने उनले नेपालको शान्तिक्षेत्रको प्रस्ताव भने समर्थन गरेनन् वरू नेपाल र भारतका बिचमा सन् १९५० मा भएको सन्धी नै शान्तिका लागि भएको अभिव्यक्ति दिए । पछि नेपालमा वहुदलीय लोकतन्त्रको स्थापना भईसकेपछि नेपाली कांग्रेसका नेताहरूसँग उनको सुमधुर सम्बन्ध रहदारहँदै पनि नेपालको टाउको दुखाईको रूपमा रहेको भुटानी सरणार्थी समस्याको हलका निमित्त उनीबाट सार्थक पहल हुन सकेन वरू नेपालमा सरणार्थी भएर बसेका भुटानीहरू भुटानका नागरिक भएको विवादस्पद अभिव्यक्ति दिए ।
भारतमा यिनी प्रधानमन्त्रि रहेकै समयमा सन् १९९९ मा नेपालको त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको भारतीय विमान सेवाको विमान अपहरणमा पर्न गयो । भारतीय सन्चार माध्यमले भारतीय विमान अपहरणमा पहिलो चोटी नै परेको हो कि भन्ने जसरी प्रचार प्रसार गरे । भारतले नेपालको अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा टुकडी राख्न गरेको प्रस्ताव भने नेपालले स्वीकार गरेन ।
आर्थिक उदारीकरण भाजपाको हितमा रहेन
नवउदारवादका हिमायतीहरू वाजपेयीले तिव्रता दिएको उदारीकरणले भारतको आर्थिक प्रगतिमा सकारात्मक भूमिका खेलेको कुरा गर्दछन् । त्यस मुलुकको आर्थिक प्रगतिलाई मात्रै ध्यानमा राख्ने हो भने त्यसलाई साँचो मान्न सकिएला । तर उक्त उदारीकरणले आर्थिक असमानताको सृजना गरेको भने भुल्नु हुँदैन । त्यसले गरीबकोभन्दा ज्यादा धनीको हित गर्न पुग्यो र त्यसै गरेर त्यसबाट ग्रामीणभन्दा सहरी ईलाकाहरू ज्यादा लाभान्वित हुन पुगे । गरिबको लागि रोजगारिका अवसरको सृजना गर्न नसक्नु र उनीहरुका जीवनस्तरमा तात्विक भिन्नता ल्याउन नसक्नु नै गरिबको निराशाको कारण बन्न पुग्यो ।
यस बाहेक स्वास्थ सेवामा वाजपेयीको शासनकालमा एक दशको तुलनामा जिडिपिको कम प्रतिशत मात्रै खर्च छुट्याईयो । सन् १९९० तिर जिडिपिको १।३ प्रतिशत स्वास्थ सेवामा खर्च गरिएकोमा सन् १९९९ मा घटेर ०। ९ प्रतिशत कायम रहन गयो । त्यस बेलामा संसारको सवैभन्दा धेरै कुष्ट रोगी रहेको भारतमा एड्सबाट ग्रसितहरूको संख्या बढिरहेको थियो भने ठूलो संख्यामा त्यस मुलुकमा क्षय रोगबाट ग्रसित रोगी रहेका थिए । त्यहाँ बर्षेनी थपिने रोगीहरूको संख्या पनि घट्न सकेको थिएन । यी सबै परिस्थितिले निमूखाहरूलाई चिढ्याएका कारणले उनीहरू भाजपाको विरोधमा उभिन पुगे सन् २००४ को आम निर्वाचनमा उक्त दलको सट्टा कांग्रेसलाई सत्तामा पुगाए।
उनको प्रधानमन्त्रित्व काल विवादित पनि रह्यो
वाजपेयी सरकारको पालामा नै पुस्तौ पुस्तादेखि खनजोत गर्दै आईराखेको जमीनबाट हटाउने कुरालाई लिएर उडिसामा आदिवासी र बिजु सरकारको प्रशासन र आदिवासीका विचमा सन् २००३ मा हिंसात्मक झडप पनि भयो जसमा ३ आदिवासी मारिए । आफ्नो जमीनको संरक्षणमा जुटेका आदिवासीलाई माओवादीको दोषारोपण गर्ने र उनीहरूको हत्या गर्दै जाने भारत सरकारको प्रवृतिमा अद्यपि कमी आएको छैन र त्यसमा हतपति कमी आउने छाँटकाँट पनि देखिदैन ।
यिनीहरूभन्दा पनि गुजरातमा सन् २००० मा मच्चिएको हिन्दू– मुस्लीम दंगा अझ विभत्स रह्यो , जसले क्रूरताका सबै सीमाहरूलाई पार गरेको थियो । त्यसबेला गुजरातमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्री थिए । यद्यपि अहिले अदालतले सफाई दिई सकेको भए पनि दंगा रोक्नका लागि आवश्यक पहल नगरेको मात्रै होईन कि बरू उक्साएको दोष लागेको थियो । त्यस दंगामा करीव २००० मुसलमानहरू मारिएका १ लाख घरवारविहीन बनेका मात्रै होईनन् कि २१६१ घर , १४६१ पसलहरू , ३८ होटेल , २४० गाडीहरू नष्ट हुन पुगेका थिए । यस दंगाका सन्दर्भमा प्रधानमन्त्रीको भनाई पनि आलोचित रह्यो । वास्तवमा यो घटना भारतको इतिहासमा एक कलंको रूपमा रहन पुगेको छ । मोदी र वाजपेयीप्रति यसैका कारण मुसलमान समुदाय कहिल्यै पनि सकारात्मक हुने सम्भावना छैन ।
यस बाहेक उनी प्रधानमन्त्री हुँदा रक्षामन्त्री जर्ज फर्नान्डिसले जल सेनाका प्रमुख विष्णु भगवतलाई सेवा मुक्त गर्ने निर्णय गरे । उनको यस निर्णयले प्रधानमन्त्रीलाई समेत विवादित बनायो । भगतप्रति पनि साहनभुति राख्ने र उनीलाई अन्याय भएको भन्नेहरूको संख्या पनि धेरै थियो । यसभन्दा अगाडी सन् १९९९ मा क्रिस्चियनहरूमाथि पनि दमन गरियो । उडिसामा त्यस धर्मका अस्ट्रेलियन मिसिनरी अन्ठाउन्न वर्षिय ग्राहम स्टेन्स , उनका दस र छ वर्षिय छोराहरू क्रमसः फिलिप र टिमोथीलाई सुतिरहेको समयमा ज्यूँदै जलाउने जघन्य अपराध समेत गरियो । यो निश्चय पनि वाजेयीको अन्तराष्ट्रिय जगतमा नकारात्मक छवि बनाउने घटना थियो किनभने वाजपेयी सरकार धार्मिक समुदायवीचको वैमष्यता हटाउन सफल हुन सकेको थिएन ।
उपसंहार
भारतीय राजनीतिका सन्दर्भमा वाजपेयी युगपुरुष थिए । उनको वौद्धिकता असीम मात्रै नभएर छिमेकीसँगको सुमधुर सम्बन्धले नै भारतको प्रगति अघि जान सक्दछ भन्ने सोचाई र त्यसै अनुरूप पाकिस्तान र चीन जस्ता चिर दुस्मनका रूपमा लिईने मुलुकहरूसँगको सम्बन्ध सुधारको प्रयास प्रसंसनीय छ , उनको यहि मार्गलाई भारतका वर्तमान प्रधानमन्त्री मोदीले समेत पछ्याउने प्रयाश गरेका थिए । नेपाल जस्तो मित्र राष्ट्रका हकमा भने उनको दृष्टिकोण खासै उत्साहजनक रहन सकेन । यस वाहेक नवउदारवादका पक्षधरहरू उनले भारतमा निजीकरण र आर्थिक सुधारका लागि चालेका कदमहरूको हर वखत संझना गरिराख्ने छन् , यद्पि ति कदमहरूको आलोचना गर्नेहरूको संख्यामा कमी भने छैन । वाजपेयीको स्वर्गारोहणले गर्दा निश्चय पनि भारतीय जनता पार्टीले आफ्नो अभिभावक र नेपाली कांग्रेससँग सम्बद्ध नेपालका नेताहरूले एउटा असल मित्र गुमाएका छन् । भाजपाका लागि यो अपूरणीय क्षेतिको भरपाई हुन धेरै समय लाग्नेछ वा कहिल्यै पनि हुन सक्ने छैन ।दिवंगत आत्माको वैकुण्ठ वास होस्।