प्रदेश ७ लाई रेम्बो ट्राउट माछाको हवका रुपमा विकास गर्ने लक्ष्य (भिडियो सहित)
डोटीमा व्यवसायिक रुपमा रेम्बो ट्राउट माछापालन सुरु
हिमालबाट बग्ने कञ्चन पानीमा पालिएको रेम्बो ट्राउट माछाको परिकारको स्वाद एकदमै छुट्टै हुन्छ । चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाको रूपमा लिइन्छ । चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको छ । ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेट तापक्रममा बाँच्न सक्छ । तर, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिगे्रट तापक्रम उपयुक्त मानिन्छ । प्रदेश सातमा रेम्बो ट्राउट माछापालनका लागि पहाडी क्षेत्रहरु निकै उपयुक्त मानिन्छन् तर यसतर्फ कसैको ध्यान जान सकेको छ । यदपि डोटीको गडसेरामा यसको व्यवसायिक पालन सुरु भएको छ ।
नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहार स्वरुप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो पटक गरिएको थियो । त्ययसपछि नेपालमा व्यवसायिक रुपमा रेम्बो ट्राउटपालन सुरु भएको भएपनि प्रदेश सातमा भने केही महिना अघि मात्रै यसको पालन सुरु भएको छ ।
डोटीको जोरायल गाउँपालिका—५ गडसेराको सिमरामा पहिलो पटक प्रदेश सातमै व्यवसायिक रुपमा रेन्बो ट्राउट माछा पालन सुरु गरिएको हो । स्थानीय चार जना कृषकहरुले रेन्बो ट्राउट माछा पालन गर्दै सो स्थानलाई रेम्बो ट्राउट माछाको हवको रुपमा विका गर्ने तयारी भईरहेको छ । गत फागुनदेखि पाँच हजार रेन्बो ट्राउट माछाका भुरा हालेर व्यवसायीक रुपमा माछापालन सुरु गरेको किसान लिलाधर बिष्टले बताए ।
शेरबहादुर देउवा, लिलाधर बिष्ट, हेमबहादुर बिष्ट र डबल ताम्राकारले जैवि कृषी उत्पादन तथा प्रवद्र्धन फर्म स्थापना गर्दै महँगो मुल्यमा विक्री हुने र निकै स्वादिष्ट रेन्बो ट्राउट माछा पालन थालिएको हो । मत्स्य विकास कृतिम तथा प्राकृतिक जलासय मत्स्य विकास कार्यक्रमको पाँच लाख र जोरायल गाउँपालिकाको एक लाख गरी ६ लाख रुपैया अनुदान पाएपछि आफ्नो लगानी थप गरेर रेन्बो ट्राउट माछा पालन गरिएको अर्का किसान हेमबहादुर बिष्टले वताए ।
मत्स्य विकास केन्द्र गेटा कैलाली र जिल्ला कृषि विकास कार्यालय डोटीको प्राविधिक टोलीले गरेको अध्ययन अनुसार सो ठाउँ ट्राउट माछा पालन र भूरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि डोटीको जोरायल गाउँपालिका—५ गडसेराको सिमरामा पहिलो पटक रेन्बो ट्राउट माछा थालिएको हो । तालबाट माछा उत्पादन हुन दुई बर्ष लाग्नेछ तर त्यसको बजारको लागि कुनै समस्या नरहेको किसान लिलाधर विष्टको भनाई छ ।
यसअघि गरिएको एक अर्को अध्ययनले पनि पहाडका भिरालो जमीनमा महँगो रेन्बो ट्राउट माछा फलाउन सकिने निष्कर्ष निकालेको थियो । तर यसतर्फ किसानहरु आकर्षित हुन सकेका छैनन् । रेन्बो ट्राउट माछाको बजार मुल्य अहिले प्रति किलो १६ सय रुपैयाँ रहेको छ । यसको पालनवाट मनग्य आम्दानी गर्न सकिने किसान हेमबहादुर बिष्टले वताए ।