आपूर्ति मन्त्रीदेखि बिच्किएका मुख्यमन्त्री भट्टले के प्रधानमन्त्रीलाई स्वागत गर्लान् ?
नेकपा विवाद
धनगढीः प्रधानमन्त्री ओली खेमाका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितका मन्त्री तथा सांसद पुस २० गते धनगढी पुगे। पुस २४ गते धनगढीमा आयोजना हुने भनिएको जनसभाको तयारी गर्न उनी धनगढी आए।
धनगढी आउँदा प्रायः एयरपोर्टमै स्वागत गर्न मुख्यमन्त्री त्रिचोचन भट्टलाई नदेखिएपछि भित्र–भित्रै मुरमुरिए। यसअघि मुख्यमन्त्री कार्यालयले सुदूरपश्चिम प्रदेशमा आउने भीआईपी, भीभीआईपीको लागि सवारी साधन उपलब्ध गराउँदै आएको थियो। तर गाडी समेत उपलब्ध नगराएपछि वाणिज्य मन्त्री भट्टको रिसको सीमा नै थिएन।
धनगढीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भित्रि कुण्ठा पोखे,‘उहाँको भूमिका आन्दोलनमा महत्वपूर्ण छ। त्यो आधारमा मुख्यमन्त्री बनाएका हौ। तर उहाँलाई राजनीतिक आचरण सिकाउन सकिएन। राजनीतिक आचरण र संस्कार नभएकाले उहाँ अर्काे समूहमा लाग्नु भएको हो।’
खासमा मुख्यमन्त्री भट्ट यसअघि वाणिज्य मन्त्री भट्टका विशेष पात्रको रुपमा चिनिन्थे। तर प्रतिनिधि सभा विघटनपछि वाणिज्य मन्त्री ओली खेमातिर लागे भने मुख्यमन्त्री प्रचण्ड–माधव समूहमा। पछिल्लो राजनीतिक संकटपछि उनीहरुबीच पानी बराबरको अवस्था छ।
मुख्यमन्त्री भट्टले आफ्नो लाइन क्लियर गर्नलाई भएपनि यसअघि नै वाणिज्य मन्त्री भट्टलाई लक्षित गर्दै आफु कसैको दास नभएको र यो स्थान (मुख्यमन्त्री)मा पुग्न धेरै त्याग र संघर्ष गरेको जवाफ दिइसकेका छन्।
‘प्रधानमन्त्री ज्यू आउने कुरा छ। तर उहाँ एउटा गुटको भेलामा आउँदै हुनुहुन्छ। देश र जनताकै हीतको कार्यक्रममा आउने भए मुख्यमन्त्री ज्यूले प्रदेशवासीको प्रतिनिधित्व गरेर ‘सम्माननीय प्रधानमन्त्री’ ज्यूलाई स्वागत गर्न जानु ठीकै हो। अहिलेसम्म हामी जाने या नजानेमा अन्योलमै छौ।’
नेकपा ओली समूहले पुस २४ गते धनगढीमा जनसभा आयोजना गरेपछि अर्को समूह प्रचण्ड–माधव समूहका मन्त्री तथा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न जान्छन् त? सवाल सिर्जना भएको हो।
सरकारकै प्रधानमन्त्री भएपनि हाल निहित ‘ओली समूह’कै जनसभालाई लक्षित गरेर प्रधानमन्त्री आउने भएपछि यहाँका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु स्वागत गर्न पुग्छन् या पुग्दैनन् भन्नेबारे हर्न बाँकी छ।
मुख्यमन्त्री भट्टको सचिवालयले यो रिपोर्ट तयार पार्दासम्म स्वागत गर्न जाने या नजानेवारे अन्योलता व्यक्त गरेको छ।
मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओली भन्छन्,‘प्रधानमन्त्री ज्यू आउने कुरा छ। तर उहाँ एउटा गुटको भेलामा आउँदै हुनुहुन्छ। देश र जनताकै हीतको कार्यक्रममा आउने भए मुख्यमन्त्री ज्यूले प्रदेशवासीको प्रतिनिधित्व गरेर ‘सम्माननीय’ प्रधानमन्त्री’ ज्यूलाई स्वागत गर्न जानु ठीकै हो। अहिलेसम्म हामी जाने या नजानेमा अन्योलमै छौ।’
पछिल्लो राजनीतिक संकटपछि ओली र प्रचण्ड–माधव समूहले एकअर्कालाई ‘जानी दुस्मन’को नजरियाले हेरिरहेका छन्। सुदूरपश्चिमका केही जिल्लामा २ पक्षबीच हात हालाहालको अवस्था छ। जसले आमनागरिकलाई चिन्तित तुल्याएको हो।